सार्क सम्मेलन पछि आन्दोलन गर्ने सडक व्यवसायीहरुको चेतावनी

काठमाण्डु टुडे २०७१ कार्तिक २० गते १२:०१ मा प्रकाशित

काठमाण्डु, २० कात्तिक – आफ्ना मागहरु सरकारले संवोधन नगरेको विरोधमा संयूक्त स्वरोजगार व्यापार व्यवसायी समाज, नेपाल स्वरोजगार व्यापार श्रमिक संघ र राष्ट्रिय स्वरोजगार व्यापार संघले संयूक्त रुपमा सार्क सम्मेलन लगत्तै देशव्यापी आन्दोलन गर्ने भएको छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समाजले सरकारले व्यवसाय गर्नबाट बन्चित गरे आफूहरुलाई घरको न घाटको बनाएको भन्दै तत्काल समस्याको समाधानका लागि उचित विकल्प प्रस्तुत नगरे आगामी मंसिरमा हुने सार्क सम्मेलन पछि चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।

समाजका अध्यक्ष सुजन गिरीले सरकारले आफूहरुको जायज मागलाई पूर्ण रुपमा बेवास्ता गरेको गुनासो गर्दै सार्क सम्मेलनलाई मध्यनजर गरेर हाल लाई आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको जानकारी दिँदै सार्क सम्मेलन सकिए लगत्तै आफूहरु सशक्त आन्दोलनमा होमिने चेतावनी दिएका हुन् ।

गिरीले भने–‘ हामीलाई सरकारले माछो–माछो भ्यागूतो बनायो, अब हाम्रो धैर्यताको बाँध टुटिसक्यो । हामी सार्क सम्मेलन पछि चरणबद्ध आन्दोलनमा होमिन्छौं ।’

व्यवसायीहरुले उचित एवम् बैकल्पिक ठाउँको व्यवस्था गर्नुपर्ने, व्यवसायीहरुलाई सरकारको करको दायरामा ल्याउनुपर्ने, कालाबजारी तथा दलालीहरुलाई कारबाही गरिनुपर्ने, परिचयपत्र लागू गरिनुपर्ने लगायतका ११ बुँदे माग राखेका थिए ।

तर हालसम्म सरकारले आफूहरुको एउटा पनि माग पूरा नगरेको भन्दै गिरीले गुनासो पोखे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us