गोरखा, २० कात्तिक – गोरखा नगरपालिका एघारकिलोका शंकर धितालले गाउँलेहरूलाई रक्सी खुवाएर उनीहरूको नाउँमा रहेको जग्गा आफ्नो नाउँमा पास गरेको खुलासा भएको छ ।
गोरखा नगरपालिका–९ छेपेटार, छोप्राक ९ चोरकाटेका ५० जनाभन्दा बढी स्थानीय बासिन्दाको नाउँमा रहेको जग्गा धितालले आफ्नो नाउँमा पास गरेको रहस्य खुलेको हो । २०६२ सालको माघमा धितालले जग्गा धनीहरूलाई रक्सी खुवाएर उनीहरूको नाउँमा रहेको जग्गा आफ्नो नाउँमा ल्याएका हुन् ।
‘छोराछोरी पढाउन ०६२ साल माघ २ गते दुई कित्ता जग्गा धितो राखेर ४० हजार ऋण लिएको थिएँ’– गोनपा–९ छेपेटारका रामकृष्ण कुमालले भने । ‘४० हजारको सावाँ र ब्याजसमेत फिर्ता गर्छु भन्दा धितालले मान्दै मानेनन् । हाम्रो जग्गा आफ्नो बनाइसकेछन् ।’– उनले भने ।
जग्गा बन्धक राख्न जिल्ला मालपोत कार्यालय जानुपर्छ भन्दै धितालले गाउँलेको जग्गा आफ्नो नाउँमा पास गरेका थिए । धितालले बन्धकमा राखेको दुई कित्तासहित अन्य पाँच कित्ता जग्गा पनि आफ्नो नाउँमा पास गरेको खुलेको कुमालले बताए । ‘दुई कित्ता जग्गा बन्धक राखेको दिनदेखि धिताल बेला–बेलामा हाम्रो घरमा रक्सी, बियर र मासु लिएर आउँथे’– कुमाल भन्छन् । ‘रक्सीको तालमा हामीले के–के भन्छौँ त्यही आधारमा रक्सी खुवाएर मालपोतमा ल्याएर ल्याप्चे लगाउन भने लगाइ दिएँ ।’ आफूले तिर्नुपर्नेभन्दा बढी रकम बराबरको जग्गा आफ्नो नाउँमा पास गरेपछि अहिले गाउँलेहरू जिल्ला प्रशासन कार्यालय गोरखामा न्याय माग्दै आएका छन् ।
सहायक प्रजिअ दीपेन्द्र पौडेललाई बुधबार निवेदन दिएर उनीहरूले धिताललाई कारबाही गर्न माग गरेका छन् । कुमालसँग ९ बर्षअघि ४० हजारमा लिएको दुई कित्ता जग्गा धितालले हालै २७ लाख रुपैंयाँमा बिक्री गरेको खुलेको प्रहरीले जनाएको छ । धिताललाई जिल्ला प्रहरी कार्यालय गोरखाले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
धितालले छेपेटारकै महेन्द्र कुमाललाई पनि रक्सी खुवाएर फसाएको खुलेको छ । ०६३ सालमा महेन्द्रले एक रोपनी ६ आना र एक रोपनी दुई पैसा क्षेत्रफलको जग्गा बन्धक राखेर धितालसँग ४० हजार रुपैयाँ ऋण लिएका थिए । तिर्न बाँकी रकमको सावा, ब्याज तिर्न जाँदा धितालले नमानेपछि आफ्नो अन्य जग्गा पनि धितालले आफ्नो नाउँमा बनाएको थाहा पाएको महेन्द्रको भनाइ छ ।
आफूलाई पनि धितालले रामकृष्णलाई जस्तै गरी बियर, रक्सी र मासु खुवाएर बन्धकी राखेको जग्गा आफ्नो नाममा पास गरेको महेन्द्रको भनाइ छ ।
रामकृष्ण र महेन्द्र ठगिएको हल्ला फिजिँदै गएपछि अहिले छेपेटार र छोप्राक–९ चोरकाटेका गरी ५० जना किसानले आफूहरू पनि धितालबाट ठगिएको भन्दै कारबाहीको माग राख्दै सदरमुकाम आएका छन् ।
उनीहरूमध्ये धिताललाई कानूनअनुसार कारबाही गर्न माग राख्दै १६ जनाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । उजुरीपत्रमा धिताललाई कारबाही र धितालको नाउँमा लगेको जग्गा फिर्ताको माग गरिएको छ । रासस