
काठमाण्डु, २० कात्तिक– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाको महत्वपूर्ण हिस्सा आफ्नो पार्टीलाई प्रक्रियाबाहिरै राखेर जारी गरिने संविधानले मुलुकको समस्या समाधान नहुने बताएका छन् ।
तोकिएकै समयमा संविधानसभाबाट संविधान जारी गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन पुगेका १३ विद्यार्थी संगठनका प्रतिनिधिसँग कुरा गर्दै उनले बहुमतीय आधारमा संविधान बने मुुलुक द्धन्द्धमा जाने खतरा रहेको बताए ।
शान्ति सम्झौता र विभिन्न समुदायसँग भएको सहमतिका आधारमा संविधान बन्नुपर्नेमा काँग्रेस–एमालेले दुई तिहाईको आडमा संविधान बनाउन खोजेर मुलुकलाई अनिश्चिचतातर्फ लैजान खोजेको उनको भनाइ थियो ।
संविधान राष्ट्रिय राजनीतिको प्रमुख एजेण्डा रहेको भन्दै उनले आगामी माघ ८ गतेभित्र संविधान जारी गर्ने प्रतिबद्धतामा इमान्दार रहेको बताए । भिन्न विचार भएका राजनीतिक शक्तिहरुबीच भएको समझदारीले निरंकुशतन्त्र फालिएको चर्चा गर्दै उनले सत्तापक्ष र प्रतिपक्ष नभई आन्दोलनका सहयात्री दलहरुको प्रयासका आधारमा सहमतिमै संविधान बनाएर द्धन्द्ध रोक्नुपर्ने बताए ।
उनले बिहीबार बिहान भएको तीन दल बैठकमा प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओली चालक भएर प्रस्तुत भएकाले सहमतिको सम्भावना फेरि बढेको उल्लेख गरे ।
संविधान जारी गर्ने कार्यभार शान्ति प्रक्रियाको हिस्सा हो भन्ने कुरा छाडेर संविधान जारी गर्ने सामान्य प्राविधिक कुरामा टुंग्याउन नखोज्न उनले आग्रह गरे ।
आफूसँग अघिल्लो संविधानसभा विघटनअघि २ दुईतिहाइको हस्ताक्षर थियोे भन्दै उनले दुई तिहाईको दम्भ नदेखाउन काँग्रेस– एमालेलाई चेतावनी दिए । उनले शान्ति प्रक्रियाको मुल पक्षलाई छोेडेर संविधान बनाउनेतिर गए मुलुक अप्ठेरोमा पर्ने बताए ।