दुई चेपाङ बालकको उद्धार

काठमाण्डु टुडे २०७१ कार्तिक २० गते ३:३६ मा प्रकाशित

चितवन, २० कात्तिक-  विकट क्षेत्रका दुई चेपाङ बालबालिकाको उद्धार गरिएको छ । पूर्वी चितवनको रत्ननगर–१० मा रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्रले उनीहरुलाई उद्धार गरी आश्रय दिएको हो ।

सञ्चारमाध्यममा चेपाङ बालबालिकाले गरिबीका कारण पढ्न र चाडपर्व मान्नसमेत नपाएको समाचार प्रकाशित भएपछि उनीहरुको उद्धार गरिएको केन्द्रले जनाएको छ ।
चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्माले मकवानपुरको विकट काकंडा गाविस–१ गाँउमै पुगी स्थानीय जितमानका चार छोरामध्ये आठ वर्षका राम बहादुर र नौ वर्षीय सत्यता चेपाङलाई उद्धार गरी केन्द्रमा ल्याएका हुन् ।

उद्धार गरिएका दुवै जनालाई स्थानीय पञ्चतेजज्योति राष्ट्रिय प्राथमिक विद्यालयको कक्षा १ मा भर्ना गरिएको केन्द्रका अध्यक्ष शर्माले बताए ।  सो केन्द्रमा यसअघि पनि विकट पहाडी बस्तीका विपन्न एवम् असहाय ७२ जना चेपाङ बालबालिका आवासीय रुपमा आश्रय लिई नजिकैको विद्यालयमा अध्ययन गरिरहेका छन् ।

विकटका विपन्न चेपाङ बालबालिकाले पढ्न नपाइरहेको अवस्थामा यस्ता विद्यार्थीको भविष्य उज्ज्वल बनाउन सघाउने कार्य साह्रै नै प्रशंसनीय भएको पञ्चतेजज्योति राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक रामबहादुर मगरले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us