दमक, १९ कात्तिक– दाहाल प्रतिस्ठानले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई वंश धरोहर घोषणा गरेको छ ।
झापाको दमकमा भएको कार्यक्रममा प्रतिष्ठानले प्रचण्डलाई धरोहर घोषणा गरेको हो । कार्यक्रममा उनलाई दाहाल प्रतिष्ठानको आजीवन सदस्यता प्रदान गरियो । कार्यक्रममा प्रचण्डले आफूहरुमाथि लागेको जातीय सदभावविरोधीको आरोपको खण्डन गरे ।
नयाँ बन्ने संविधानमा सबै जाति र समुदायको भावना र पहिचान समेटिनुपर्ने आफ्नो पार्टीको धारणालाई अरुले गलत व्याख्या गरेको उनको टिप्पणी थियो ।
‘सबै जाति र समुदाय समृद्ध भए मात्र राष्ट्रियता बलियो हुन्छ भन्ने हाम्रो स्पष्ट धारणा हो’, प्रचण्डले भने, ‘तर यसलाई केही मानिसले गलत प्रचार गरिरहेका छन् ।’ उनले पहिचानबिनाको संविधान ल्याए जनताले नमान्ने दाबी गरे ।
उनले संविधानसभाबाट संघीयतासहितको संविधान बनाउन सहमतिको विकल्प नरहेको दोहोर्याए । अहिलेसम्मका सबै उपलब्धिलाई समाप्त पार्ने चेलखेल भइरहेकाले सबै सचेत हुनुपर्ने उनको भनाइ थियो ।