जान्न भन्दाभन्दै किन गयो एमाओवादी काँग्रेस–एमाले बैठकमा ?

काठमाण्डु टुडे २०७१ कार्तिक १९ गते १४:१९ मा प्रकाशित

maoist-flagकाठमाण्डु, १९ कात्तिक–काँग्रेस–एमालेले सात प्रदेशको प्रस्ताव ल्याएपछि बिच्किएको एकीकृत माओवादी प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा सहभागी भएको छ ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईको संयोजनमा सिंहदरबारस्थित राज्य व्यवस्था परामर्श समितिको हलमा बसेको बैठकमा एमाओवादी गएको हो ।

यसअघि उसका केही नेताले सात प्रदेशको प्रस्ताव फिर्ता नलिए काँग्रेस–एमालेसँग छलफलमा नबस्ने बताएका थिए । बैठकबाट बाहिरिने क्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेस–एमालेले विगतको सहमति र प्रतिबद्धता विपरीत ल्याएको सात प्रदेशको प्रस्ताव फिर्ता लिनुपर्ने बताए ।

सत्ता पक्षले दुई तिहाईको बलमा पेल्न खोजे परिणाम भयावह हुने चेतावनी दिए । प्रक्रियाबाट संविधान जारी हुनै नसक्ने उनले दोहोर्‍याए ।

एमाले उपाध्यक्ष भीम रावलले माओवादीका कारण दलहरुबीच विश्वासको वातावरण धमिलिएको आरोप लगाए । उनले सभामुखको उपस्थितिमा प्रमुख तीन दलका शीर्ष नेता तथा संवाद र मस्यौदा समिति सभापतिबीच भएको सहमतिका आधारमा प्रक्रियामा जान आफूहरुले प्रस्ताव तयार पारेको भए पनि एमाओवादीले पछि कुरा फेरेको बताए । रावलले सहमति प्रयासमा बिहीबार पुन: तीन दलका शीर्ष नेताको बैठक बस्ने जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us