काँग्रेसका मन्त्रीले भ्रष्टाचार गरे पनि एक मिनेटमै निकाल्छु : प्रधानमन्त्री

काठमाण्डु टुडे २०७१ कार्तिक १९ गते ११:२३ मा प्रकाशित

काठमाण्डु, १९ कात्तिक – प्रधानमन्त्री सुशील कोइरालाले सरकारका मन्त्रीे भ्रष्टाचारमा संलग्न रहेको पाइए मिनेटभरमै बर्खास्त गर्ने बताएका छन् ।

sushil koiralaपूर्वनिर्धारित समयमै संविधान जारी गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन गएका १३ विद्यार्थी संगठनका प्रतिनिधिसँग बालुवाटारमा कुरा गर्दै भ्रष्टाचारीलाई छुट नदिने बताए । भ्रष्टाचार न्यूनीकरणका लागि शुन्य सहनशिलताको नीति लिएको उनको भनाइ थियो ।

‘ म भ्रष्टाचारको विरोधी हुँ ’ कोइरालाको भनाइ उद्धृत गर्दै नेविसंघ प्रवक्ता यूपी लामिछानेले भने, ‘ आफ्नै पार्टीका मन्त्रीले भ्रष्टाचार गरेको थाहा पाए पनि एक मिनेटमै हटाउँछु । ’ विद्यार्थी संगठनले शैक्षिक क्षेत्रमा अख्तियारले गरेको हस्तक्षेपको प्रसंग उठाउँदा अख्तियार प्रमुखसँग छलफल गर्ने आश्वासन दिएको लामिछानेले बताए ।

प्रधानमन्त्री कोइरालाले माघ ८ मा संविधान जारी गर्न सवै दलले सकारात्मक प्रयास गरिरहेको बताए । उनले दुई तिहाईबाट संविधान जारी गर्ने भनेपछि एमाओवादीले अत्तालिएर आन्दोलनमा गएको उल्लेख गरे ।

विद्यार्थी संगठनहरुले यसअघि संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा मालेका अध्यक्ष सीपी मैनालीलाई ज्ञापन पत्र बुझाइसकेका छन् ।

नेविसंघ प्रवक्ता लामिछानेले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसहित मधेसवादी दलका अध्यक्षहरुलाई पनि ज्ञापन पत्र बुझाउने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us