रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी छ्यापियो

काठमाण्डु टुडे २०८३ साउन ८ गते १४:०१ मा प्रकाशित

काठमाण्डू, ८ साउन– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पौडेलमाथि कालोमसी छ्यापिएको छ । रास्वपा सांसद पौडेललाई आफ्नै निर्वाचन क्षेत्रको एक गाउँमा मधेसी मुक्ति अभियानका कार्यकर्ता बताउने समूहले कालोमसी प्रहार गरेको हुन ।

गढीमाई नगरपालिका– ४ पर्सागाउँस्थित रामजानकी मठमा स्थानीयसँग भेटघाट तथा छलफल गरिरहेका बेला बिहीबार राति केही युवाले उनीमाथि पछाडिबाट कालोमसी छ्यापेका हुन । सांसद पौडेल रौतहट निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत गढीमाई नगरपालिकाको समनपुर, बलुवा र गम्हरिया गाउँका स्थानीयसँग छलफल सम्पन्न गरी पर्सागाउँमा आयोजित भेटघाट कार्यक्रममा सहभागी भएका थिए ।

राति करिब ८ बजेतिर कार्यक्रम समापन हुने क्रममा ४–५ जनाको समूहमा आएका युवाले पोस्टर तथा पर्चा छर्दै नाराबाजी गरेका थिए । त्यसक्रममा उनीहरूले सांसद पौडेल बसेको स्थानतर्फ पछाडिबाट कालोमसी प्रहार गरी फरार भएको प्रत्यक्षदर्शीले बताएका छन ।घटनाबारे सांसद पौडेलले पनि पुष्टि गरेका छन् ।

उनले भनेका छन, ‘कार्यक्रम सकाएर फर्किने क्रममा पछाडिबाट केही युवाले कालो पदार्थ प्रहार गरेर भागे। उनीहरूको पहिचान भइसकेको ।’ स्थानीयका अनुसार कालोमसी प्रहार गर्ने समूहले आफूहरू मधेसी मुक्ति अभियानसँग आबद्ध रहेको जनाउँदै झन्डासहित नाराबाजी गरेका थिए ।

उनीहरूले ‘मेचीदेखि महाकालीसम्मको भूभाग मधेसको हो’ भन्ने नारासहित पर्चा वितरण गरेको पनि सांसद पौडेलले बताएका छन्। घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले कालोमसी प्रहारमा संलग्न व्यक्तिहरूको खोजी तथा अनुसन्धान तीव्र बनाएको जनाएको छ । प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us