काठमाण्डू, ७ साउन– भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीहरूले आफ्नो बसोवास तथा जग्गाको स्वामित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै बिहीबार पनि आन्दोलन गरेका छन ।
सरकारले वैकल्पिक व्यवस्थापन नगरी उठिबास लगाएको भन्दै उनीहरूले ‘यो देशमा बाँच्न देऊ’ लेखिएको ब्यानर बोकेर काठमाण्डूको माइतीघर मण्डलामा आन्दोलन गरीरहेका छन ।
सरकारले समस्या समाधान नगरेसम्म आन्दोलन थप सशक्त रूपमा जारी राख्ने पनि उनीहरुले बताएका छन । सुकुमवासी नागरिक प्रेमबहादुर तामाङले सरकारले सुकुमवासी र हुकुमवासी नछुट्याइकन सबैलाई एउटै डालोमा हाल्ने काम गरेको भन्दै आपत्ति जनाए ।
सरकार भूमि भएका र नभएका नागरिकको छानबिन गरेर मात्र सुकुमवासी बस्ती हटाउनुपर्नेमा त्यसो नगरेको उनको आरोप छ । उनले आफूहरूको वैकिल्पक व्यवस्थापन नभएसम्म आन्दोलन जारी राख्ने बताए ।