काठमाण्डू, ७ साउन– अमेरिका, मेक्सिको र क्यानडामा भर्खरै सम्पन्न भएको फिफा विश्वकपको ‘टीम अफ द टुर्नामेन्ट’ सार्वजनिक भएको छ ।
विश्वभरका समर्थकलाई आफ्नो मनपर्ने खेलाडी छान्न लगाएपछि फिफाले ११ खेलाडी सार्वजनिक गरेको हो । स्पेनको जितमा महत्त्वपूर्ण भूमिका खेले तापनि स्पेनका स्टार खेलाडीहरू पाउ कुबार्सी र आयमेरिक लापोर्टेलाई अनौठो तरिकाले मतदान प्रक्रियामै समावेश गरिएको थिएन, जसको कारण अझै स्पष्ट हुन सकेको छैन ।
अहिले सार्वजनिक गरिएको यस ११ सदस्यीय टोलीमा बार्सिलोनाका एक जना खेलाडी पनि परेका छैनन् । यद्यपि, स्पेनका स्टारहरू मार्क कुकुरेया, पेड्रो पोरो र रोड्री भने टोलीमा पर्न सफल भएका छन् ।
केप भर्डका लागि उत्कृष्ट प्रदर्शन गरेका भोजिन्हा गोलकिपरका रूपमा छानिएका छन् । रक्षापंक्तिमा उनीसँगै डायोट उपमेकानो र लिसान्ड्रो मार्टिनेज रहेका छन् ।
मिडफिल्डमा रोड्रीसँगै इङ्ल्यान्डका जुड बेलिङहम र फ्रान्सका माइकल ओलिसे रहेका छन् । आक्रमण पंक्तिमा लियोनल मेसी, एर्लिङ हालान्ड र किलियन एम्बाप्पे पर्न सफल भएका छन ।