काठमाण्डू, २ साउन सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद यज्ञमणि न्यौपानेले न्यायालय (अदालत) का विषयमा निर्मम समीक्षा गर्नुपर्ने बेला आएको टिप्पणी गरेका छन् ।
विशेष अदालतले शंकास्पद शेयर कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्त शुद्धीकरण कसुरमा साधारण तारेखमा रिहा गरेको विषयमा उनले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन् ।
कानून व्यवसायीसमेत रहेका न्यौपानेले न्यायालयको पुनःसंरचनाबिना सुशासन र भ्रष्टाचार अन्त्य सम्भव नभएको बताए । ‘विगतका केही श्रृङ्खलाबद्ध घटनाक्रमहरूले स्पष्ट पारिरहेको छ, न्यायालय पुनरसंरचना बिना सुशासन र भ्रष्टाचारको अन्त्य सम्भव छैन’, न्यौपानेले लेखेका छन्, ‘न्यायालयको सन्दर्भमा निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसकेको छ ।
यस कर्मलाई जति ढिला गर्यो त्यति नै अकल्पनीय ढिला भएको महसुस हुन सक्ने परिस्थिति बन्न सक्छ । राज्यका सबै निकायले परिवर्तनलाई आत्मसाथ गर्न सक्नुपर्दछ र मात्रै देश परिवर्तन गर्न सम्भव छ ।’
उनले आवेगमा आएर यस्तो अभिव्यक्ति नदिएको जिकिर गर्दै भनेका छन्, ‘यो मेरो आवेगमा आएर बुझेको बुझाई नभई गम्भीर समीक्षाबाट निस्किएको निष्कर्ष हो, जय देश ।’