एमाले बागमती प्रदेश सरकारबाट बाहिरियो, सामूहिक राजीनामा दिन मन्त्रीहरुलाई निर्देशन

काठमाण्डु टुडे २०८३ साउन २ गते १४:२७ मा प्रकाशित

काठमाण्डू,२ साउन कांग्रेससँगको सहकार्य भंग भएपछि नेकपा एमालेले बागमती प्रदेश सरकार छाड्ने निर्णय गरेको छ। सरकारमा सहभागी एमालेका मन्त्रीहरूले अब सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन् ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टीको निर्णयअनुसार सरकारमा रहेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइएको बताए। उनका अनुसार कांग्रेसले सहकार्य अगाडि बढाउन नसकिने बताएपछि एमालेले पनि सरकारमा रहिरहनुको औचित्य नभएको निष्कर्ष निकालेको हो ।

कांग्रेसको निर्णयपछि हामीले उहाँहरूसँग कुरा गर्‍यौँ,’ थपलियाले भने, ‘उहाँहरूले अगाडि सहकार्य गर्न सकिँदैन भन्नुभयो। हामी अब सरकारबाट बाहिरिन्छौँ ।’

एमालेले केन्द्रको निर्देशनपछि प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन भनेको उनले जानकारी दिए । बागमती प्रदेश सरकारमा एमालेका तर्फबाट ६ जना मन्त्री छन्। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले केही समयअघि मन्त्रालयको संख्या घटाएर १४  बाट ८ कायम गरेका थिए ।

मन्त्रालय पुनर्संरचनापछि एमालेका सबै ६ मन्त्रीलाई जिम्मेवारीविहीन बनाउँदै विना विभागीय भूमिकामा राखिएको थियो । कांग्रेस–एमालेबीचको सहकार्य टुटेसँगै बागमती प्रदेशको सत्ता समीकरण फेरिएको छ। एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकार थप संकटमा परेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us