रवि लामिछाने भन्छन्ः पार्टी अभिभावक हो, सरकारले गलत निर्णय गर्दा पार्टीले सच्याउँछ

काठमाण्डु टुडे २०८३ साउन २ गते १३:२५ मा प्रकाशित

काठमाण्डु, २ साउन– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सरकारले गलत निर्णय गरेको खण्डमा पार्टीले हस्तक्षेप गरेर सच्याउने बताएका छन् ।

रौतहटमा क्रियाशिल विभिन्न पार्टीका नेताहरुसँगको छलफलमा शुक्रबार उनले बालेन्द्र शाह नेतृत्वको सरकारको नियतमा कुनै शंका नभएको बताए । तर, सरकारका कुनै निर्णय गलत भए वा सरकारका निर्णयले लाभ नभई देश र जनतालाई हानी गर्छ भने त्यस्ता निर्णय परिवर्तन उनको भनाइ थियो ।

‘सरकारका निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ, त्यसमा करेक्सन गर्न सकिन्छ’, उनले भने, ‘नियतमै समस्या भयो भने सच्याउन सकिँदैन’, उनले भने, ‘किसानको पक्षमा निर्णय गर्छु भन्दा त्यही निर्णय किसानको विपक्षमा भइदियो भने करेक्सन गर्न सकिन्छ ।’

सरकारले गलत निर्णय गरेको अवस्थामा परिवर्तन हुने भन्दै चिन्ता नलिन आग्रह गरे । ‘कुनै निर्णयले लाभ होइन हानी भएछ भने त्यसमा निर्णयहरू परिवर्तन हुन्छ’, उनले भने, ‘त्यसमा चिन्ता गर्नु पर्दैन । तर अलिकति समय हामीले दिनुपर्छ ।’

केही कामले ठूलो ड्यामेज गर्‍यो भने त्यसलाई पार्टीले रातारात परिवर्तन गर्ने बचन उनले दिए । ‘पार्टीले आफ्नो अभिभावकत्व लिनबाट कहिल्यै पछि हट्दैन, चिन्ता नगर्नुहोला । पार्टी अभिभावक हो, पार्टीले हेर्नेछ’, लामिछोनले भने ।

यद्यपि कुनै समय विवादित विषय कालान्तरमा सही भएका उदारहणहरु रहेको तर्क गरे । यद्यपि सरकारको निर्णय अपरिवर्तनीय नहुने उनले स्पष्ट गरे । सरकारका नीतिले किसान, मजदुर, गरिब र विपन्न वर्गलाई अप्ठ्यारो पारेको अवस्थामा निर्णय सच्याइने प्रतिबद्धता जनाए ।

‘सरकारले लिएको नीति किसानलाई अप्ठ्यारो पार्ने, मजदुर वर्गलाई अप्ठ्यारो पार्ने, गरिब विपन्न वर्गलाई अप्ठ्यारो पार्ने कालान्तरमा देखिएको खण्डमा त्यस्ता कुनै पनि नीतिहरू परिवर्तन हुन्छन्’, लामिछानेले भने, ‘यो अपरिवर्तनीय कुरा होइन, परिवर्तन हुन सक्छ । थोरै समय मात्र धैर्यता गरिदिनुहोला ।’

फरक प्रसंगमा उनले पार्टीले गलत बाटो समातेको अवस्थामा खबरदारी गर्न नेता कार्यकर्तालाई अपिल गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us