रास्वपा कार्यकर्ताप्रति ज्ञानबहादुर शाहीको जवाफः बारम्बार बिहे गर्ने तिम्रो नेताजस्ता सबै हुँदैनन्

काठमाण्डु टुडे २०८३ साउन २ गते १३:१५ मा प्रकाशित

काठमाण्डु, २ साउन- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले आफ्नो विवाहका विषयलाई लिएर भ्रम फैलाएको भन्दै सत्तारुढ रास्वपा कार्यकर्ता र समर्थकविरुद्ध आक्रोश व्यक्त गरेका छन् ।

शाहीले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध रास्वपा पंक्तिले भ्रमपूर्ण प्रचार गरिरहेको जिकिर गरे । शाहीले दुबईमा इमानदारीपूर्वक काम गरिरहेकी एक नेपाली महिलाको तस्बिरलाई आफ्नो श्रीमती भन्दै झूटो प्रचार गरिएको दाबी गरेका छन् ।

उनले यस्तो प्रचारले निर्दोष महिलाको चरित्र, सम्मान र भविष्यसँग खेलवाड भएको टिप्पणी गरे । उनले सबै मानिसले रास्वपा नेताले जस्तो बारम्बार बिहे नगर्ने तर्क गरेका छन् । ‘सबै मानिस तिम्रो पार्टीका नेताजस्तो बारम्बार बिहे गर्ने खालका हुँदैनन्’, शाहीले लेखेका छन्, ‘आफ्नो जस्तो नठान ।’

उनले संसदमा उठाएका प्रश्नहरुबाट ध्यान मोड्न आफूविरुद्ध व्यक्तिगत आरोप, अफवाह र चरित्रहत्या गर्न खोजिएको बताए । ‘यदि साँच्चै हिम्मत र दम छ भने मैले संसदमा उठाएका प्रश्नहरूको तथ्य र प्रमाणसहित जवाफ देऊ’, शाहीले भनेका छन्, ‘व्यक्तिगत आरोप र चरित्रहत्या गरेर सत्यलाई ढाक्ने प्रयास बन्द गर ।’ प्रतिनिधिसभा बैठकमा शाहीले लगातार सरकारको कार्यशैलीको विरोध गर्दै आएका छन् ।

शाहीले निर्दोष महिलाको तस्बिर दुरुपयोग गरी सामाजिक सञ्जालमा गलत सूचना फैलाउने कार्यलाई गम्भीर गैरजिम्मेवारी भएको उल्लेख गर्दै यस्तो गतिविधिले सम्बन्धित व्यक्तिको मानसिक अवस्था र पारिवारिक जीवनमा गम्भीर असर पर्ने बताएका छन् ।

यस्ता गतिविधिका कारण कतिपयलाई आफू रास्वपाको समर्थक वा सदस्य हुँ भन्नसमेत लाज लाग्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । ‘यस्ता हर्कत सुन्दा पनि घिन लाग्छ’, शाहीले लेखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us