फ्रान्स–मोरोक्को खेलका लागि सबै रेफ्री अर्जेन्टिनाका, फ्रान्सेली मिडियाले लेखे: फिफालाई लाज छैन

काठमाण्डु टुडे २०८३ असार २४ गते १८:२८ मा प्रकाशित

काठमाण्डू, २४ असार– फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्स र मोरोक्कोबीच हुने क्वार्टरफाइनल खेलअघि रेफ्री नियुक्तिलाई लिएर विवाद चर्कीएको छ ।

फ्रान्सेली सञ्चारमाध्यमहरूले खेल सञ्चालन गर्ने सम्पूर्ण अफिसियल टोली अर्जेन्टिनाबाट नियुक्त गरिएको विषयमा प्रश्न उठाएका छन । फ्रान्सेली सञ्चारमाध्यम आरएमसी स्पोर्टले आफ्नो समाचार कभरेजको सुरुआतमै ‘फिफालाई लाज छैन ?’ भन्ने कडा टिप्पणी गर्दै अर्जेन्टिनाका रेफ्री फाकुन्दो टेल्लोलाई खेलको मुख्य रेफ्री नियुक्त गरिएको विषयमा आलोचना गरेको छ । खेलका लागि मुख्य रेफ्रीको जिम्मेवारी टेल्लोलाई दिइँदा सहायक रेफ्रीहरू पनि अर्जेन्टिनाकै छन् ।

भीएआर टोलीमा पनि अर्जेन्टिनाकै अधिकारीहरूलाई जिम्मेवारी दिइएको छ । यसरी मैदानभित्र र भिडियो प्रणाली दुवैमा काम गर्ने सम्पूर्ण टोली एउटै देश अर्जेन्टिनाबाट हुनु नै विवादको मुख्य कारण बनेको हो ।

अनुभवी रेफ्री भए पनि उठ्यो प्रश्न

फाकुन्दो टेल्लो दक्षिण अमेरिकाका अनुभवी रेफ्रीमध्ये एक हुन् । उनी सन् २०१९ देखि फिफा अन्तर्राष्ट्रिय रेफ्रीका रूपमा कार्यरत छन् ।

तर उच्चस्तरीय खेलमा सामान्यतया फिफाले तटस्थ देशका रेफ्री नियुक्त गर्ने वा फरक–फरक देशका अधिकारीहरू मिसाउने गरेको भन्दै केही समर्थकहरूले यसपटकको निर्णयमाथि प्रश्न उठाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us