काठमाण्डू, २४ असार– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा अझै पनि अन्य धेरै व्यक्तिहरू शंकाको घेरामा रहेको बताएका छन ।
काठमाण्डू जिल्ला अदालतले यो प्रकरणमा अधिकांशलाई दोषी ठहर गरेपछि पूर्वगृहमन्त्री समेत रहेका श्रेष्ठले सरकारले थप अनुसन्धान अघि बढाउनुपर्ने बताएका छन ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका बेला उपप्रधानमन्त्री तथा गृहमन्त्री रहँदा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले घटनाको गम्भीर अनुसन्धान गरी मुद्दा दायर गरेको स्मरण गरे ।
उनले भनेका छन्, ‘अहिले अदालतले त्यतिबेला आरोपित मूल दोषीहरूलाई दोषी ठहर गर्ने फैसला गरेर राष्ट्रको छवि नै धमिल्याउने उक्त घटनाको टुङ्गो लगाउनु सन्तोषको विषय हो । तर म सरकारलाई के कुरा स्मरण गराउन चाहन्छु भने त्यतिबेला मुद्दा दायर गर्दा त्यस बेलासम्मको अनुसन्धानद्वारा पुष्टि भएको आधारमा सम्बन्धितहरूलाई मुद्दा लगाइएको थियो ।’
अदालतले निर्णय राष्ट्रको छवि धमिल्याउने घटनाको टुङ्गो लगाउने दिशामा सकारात्मक भएको बताएका छन् । उनले थपेका छन्, ‘अन्य कैयौँ व्यक्तिहरू शंकाको घेरामा तानिएका थिए र त्यसको लागि थप अनुसन्धानको आवश्यकता थियो ।
कानुनी रूपले मुद्दा बुझाउनै पर्ने समय आइसकेकोले अनुसन्धानद्वारा पुष्टि भएकाहरूलाई मुद्दा चलाई अन्यका हकमा थप अनुसन्धान खुला राखिएको थियो । तसर्थ सरकारलाई सम्बन्धित निकाय मार्फत थप अनुसन्धान अघि बढाउन ध्यानाकर्षण गराउन चाहन्छु ।’