काठमाण्डू, १८ असार– नेपाल सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले सरकारले फिफाले एन्फालाई निलम्बन गरेको विषय अहिलेको सरकारले हस्तक्षेप गरेकाले मात्र नभएको बताएका छन ।
आज (बिहिबार) बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता पोखरेलले यस्तो बताएका हुन् । यसअिघका सरकारले विभिन्न समयमा विभिन्न चरणका हस्तक्षेप भएका कारण यो अवस्था आएको पनि उनले बताएका छन । नेपाली फुटबल अब यो भन्दा तल जाने ठाउँ नरहेको भन्दै खेलकुदलाई वर्तमान सरकारले माथि उठाउने पनि उनले बताएका छन ।
उनले अहिले एन्फासम्बन्धी धेरै भ्रष्टाचारका उजुरीहरू धेरै परेको र राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षको अध्यक्षतामा छानबिन समिति गठन गरेको स्पष्ट पारे ।
एन्फाका पदाधिकारीहरू विश्वकपमा नेपालको फुटबलले केही न केही उपलब्धि हासिल गरेपछि मात्रै जान पाउने उनले बताएका छन । फिफा र एएफसीका पदाधिकारीहरूलाई वार्ताका लागि बोलाइसकेको बताउँदै उनीहरू आएपछि विस्तृत छलफल गरिने पनि मन्त्री पोखरेलले बताए ।