काठमाडौं- सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, बीमा ऐन, धितोपत्र तथा विदेशी विनिमय सम्बन्धी विभिन्न कसुरमा अभियोग लागेका दिपक भट्ट र सुलभ अग्रवाललाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले दुवै प्रतिवादीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।
अदालतले सुलभ अग्रवालको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आवश्यक उपचारको व्यवस्था मिलाउन सम्बन्धित कारागार कार्यालयलाई निर्देशन दिएको छ ।
साथै भट्टको नाममा रहेको ०१–०३३ च १ नम्बरको सवारीसाधन कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागलाई बुझाउन आदेश गरिएको छ ।
बरामद मोबाइल फोन अदालतको जिन्सीमा दाखिला गर्न तथा बरामद अमेरिकी डलर र थाई भाट नेपाल राष्ट्र बैंकमा पठाउन पनि अदालतले आदेश दिएको छ ।
भट्ट र अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरेका थिए ।
अनुसन्धानपछि उनीहरूविरुद्ध विशेष अदालत, उच्च अदालत र जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरिएको थियो ।
अभियोगपत्रअनुसार उनीहरूमाथि सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, बीमा ऐन, धितोपत्र तथा विदेशी विनिमय ऐनअन्तर्गतका कसुर गरेको आरोप छ ।
मुद्दामा भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ र सुलभ अग्रवालविरुद्ध २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ बिगो दाबी गरिएको छ ।