काठमाण्डू, २ असार– फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दै उपाधि रक्षा अभियान शानदार रूपमा सुरु गरेको छ। कप्तान लियोनल मेस्सीले ऐतिहासिक ह्याट्रिक गर्दै टोलीलाई सहज जित दिलाए।
३८ वर्षीय मेस्सीले खेलको १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गर्दै आफ्नो पहिलो विश्वकप ह्याट्रिक पूरा गरे। यससँगै उनले विश्वकपमा कुल १६ गोल पुर्याउँदै जर्मनीका मिरोस्लाभ क्लोजको सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका छन्। साथै, छैटौँ विश्वकप खेल्ने पहिलो खेलाडी बन्दै उनले अर्को ऐतिहासिक उपलब्धि पनि हासिल गरे।
तर मेस्सीको उत्कृष्ट प्रदर्शनसँगै खेलमा एउटा विवादास्पद क्षणले पनि चर्चा पायो। अर्जेन्टिनाले अग्रता लिनुअघि पहिलो हाफमा मेस्सीको एक चुनौतीपूर्ण ट्याकललाई लिएर रातो कार्डको बहस सुरु भएको थियो।
घटनामा मेस्सीको स्टड अल्जेरियाली खेलाडी मन्डीको खुट्टामा लागेको देखिएको थियो। यद्यपि मुख्य रेफ्री स्जिमोन मार्सिनियाक र भिडियो सहायक रेफ्री ९भिएआर० ले उक्त घटनालाई रातो कार्ड योग्य ठानेनन् र खेल जारी राख्ने निर्णय गरे।
म्यानचेस्टर सिटीका पूर्व डिफेन्डर नेदुम ओनुओहाले भने उक्त चुनौतीका लागि मेस्सीलाई मैदानबाट बाहिर पठाउनुपर्ने धारणा राखे। ईएसपीएनसँग कुरा गर्दै उनले भने, “मेरो विचारमा त्यो रातो कार्ड हुनुपर्थ्यो। घटना भएपछि मेस्सी स्वयं पनि केही चिन्तित देखिन्थे, किनभने त्यो निर्णय उनको विपक्षमा जान सक्थ्यो।”
यता फ्रान्स तथा आर्सनलका पूर्व स्ट्राइकर थिएरी हेनरीले भने घटनालाई फरक दृष्टिकोणबाट हेर्नुपर्ने बताए। फक्स स्पोर्ट्ससँगको कुराकानीमा उनले भने, “यस्ता घटनाको मूल्याङ्कन गर्दा खेलाडीको नियत महत्त्वपूर्ण हुन्छ । मेस्सी स्पष्ट रूपमा बलतर्फ केन्द्रित थिए र फुटबल खेल्ने प्रयास गरिरहेका थिए । उनले कसैलाई चोट पुर्याउने उद्देश्य राखेको देखिँदैन । घटना असहज देखिए पनि हरेक टक्कर रातो कार्ड हुँदैन ।”
विवादका बीच मेस्सीले ह्याट्रिकसहित विश्वकपमा अर्को ऐतिहासिक अध्याय थपेका छन् । उनको प्रेरणामा अर्जेन्टिनाले प्रतियोगितामा बलियो सुरुआत गरेको छ भने उक्त घटनाबारे बहस भने अझै जारी छ ।