७७ वटै सदरमुकाममा एफटीटीएच सेवा पुर्याइएको छः सञ्चारमन्त्री तिमिल्सिना

काठमाण्डु टुडे २०८३ असार ३ गते १७:१३ मा प्रकाशित

काठमाण्डू, २ असार– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मुलुकको दूरसञ्चार सेवाको गुणस्तर अभिवृद्धि र पूर्वाधार विस्तारका लागि सरकारले विशेष प्राथमिकताका साथ काम गरिरहेको बताएका छन ।

आज (बुधबार) प्रतिनिधि सभा बैठकमा मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले यस्तो बताएका हुन । उनले सञ्चार क्षेत्रको आधुनिकीकरण र सेवा प्रवाहमा प्रभावकारिता ल्याउन चालिएका कदमबारे जानकारी गराएका हुन ।

मन्त्री तिमिल्सिनाका अनुसार ७७ वटै जिल्ला सदरमुकाममा ‘फाइबर टु दि होम’ (एफटीटीए) सेवा पुर्‍याइसकिएको छ । अब यस सेवालाई सबै नगरपालिका तथा गाउँपालिकाका वडाहरूसम्म विस्तार गर्ने कार्य शुरु भइसकेको छ । यस्तै, मध्य पहाडी लोकमार्ग लगायतका प्रमुख सडक खण्डहरूमा अप्टिकल फाइबर बिछ्याउने कार्यलाई तिब्रता दिइएको छ ।

मन्त्री तिमिल्सिनाले हालसम्म विभिन्न ७६३ स्थानमा मोबाइल नेटवर्कका पूर्वाधार सञ्चालनमा आएको र आगामी आर्थिक वर्षमा थप १५९७ वटा बिटिएस तथा ई–नोड–बी खरिद प्रक्रिया अगाडि बढाइने जानकारी दिए । हुलाक सेवा पुरानै शैलीमा सीमित भएको भन्ने सांसदहरूको गुनासो सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले यसलाई छिटो, छरितो र प्रविधिमैत्री बनाउन सरकार लागिपरेको पनि उनले बताएका छन ।

आगामी आर्थिक वर्षमा थप ५० वटा स्थानीय तहका हुलाक कार्यालयहरूमा सूचना प्रविधि पूर्वाधार निर्माणका लागि २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट (एनडीटीपी) मार्फत हुलाकको आधुनिकीकरण गरिने उनले स्पष्ट पारे ।

हाल ६२ जिल्लामा हुलाकमार्फत नागरिकका राहदानी, लाइसेन्स र लालपुर्जा जस्ता महत्वपूर्ण कागजात घरदैलोमै पुर्‍याउने कार्य भइरहेको छ । चलचित्र क्षेत्रको प्रवर्द्धनका लागि सरकारले नीतिगत परिवर्तन र पूर्वाधार निर्माणमा जोड दिएको मन्त्रीको भनाइ छ ।

चलचित्र सम्बन्धी विधेयक संसदीय समितिमा छलफलका क्रममा रहेको उल्लेख गर्दै उहाँले चलचित्रलाई उद्योगका रूपमा स्थापित गर्न सरकार प्रतिबद्ध रहेको समेत बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us