काठमाण्डू, २ असार– ६ फागुन २०८२ शिवरात्रिको भोलिपल्ट पशुपतिमा एक युवकको शंकास्पद मृत्यु भयो । युवकको शव पशुपतिनाथ मन्दिर परिसरमा शव फेला परेको थियो । शव भेटिएपछि प्रहरीले घटनास्थलको मुचुल्का गरी अनुसन्धान अघि बढायो । मृत व्यक्तिको शरीरमा निलडाम र चोटपटक देखिएपछि मृत्यु शंकास्पद भन्दै काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि अनुसन्धानमा खटियो ।
अनुसन्धानका क्रममा मृत व्यक्ति संखुवासभाका अन्दाजी २५ वर्षीय सन्तोष गिरी भनिने सन्तोष परियार भएको खुल्यो । मृत भेटिएका व्यक्ति पशुपति क्षेत्रमै बस्ने, मागेर खाने गरेको पाइयो ।
शवको प्रकृति र पोस्टमार्टम रिपोर्टपछि गिरीको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको थियो । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले चार महिनापछि सन्तोषको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भएका द्रव्यनाथ बाबा भनिने सुविन राना मगरलाई पक्राउ गरेको छ ।
उनलाई महोत्तरी गौशाला नगरपालिका–६ गौशालाबाट अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान गर्दा मोबाइल चोरीको विषय खुलेको प्रहरीले जानकारी दिएको छ । मृत फेला परेका युवक राति कोसँग बसेका छन् भनेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
सोही क्रममा बाबाको संलग्नता देखियो । त्यसपछि प्रहरीले एक बाबालाई पक्राउ गरेका हो । चार महिनापछि प्रहरीले एक नेपाली बाबालाई पक्राउ गरे पनि यसमा अर्का भारतीय बाबाको पनि संलग्नता रहेको खुलेको छ । तर उनी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।
हत्या लगत्तै उनी भागेर भारत पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ । ती भारतीय बाबा अनुपनाथ नाम गरेका व्यक्ति रहेको प्रहरीले बताएको छ । ‘भारतीय र नेपाली बाबाले कुटेर हत्या गरेको देखिन्छ । भारतीय बाबा भने अहिलेसम्म पक्राउ गरेर ल्याउन सकिएको छैन ।
यद्यपि, उनको पहिचान भने भइसकेको छ,’ एक अनुसन्धान अधिकारीले भने । सन्तोषको हत्या गर्नुको पछाडि मुख्य दुई वटा कारण देखिएको प्रहरीले बताएको छ । अहिलेसम्मको अनुसन्धानबाट मोबाइल चोरी गरेको र पशुपति जस्तो पवित्र ठाउँमा भोग दिँदा शक्ति आर्जन हुने भन्ने अन्धविश्वासका कारण हत्या भएको प्रहरीको भनाइ छ ।
शिवरात्रिमा पशुपति आएका भारतीय बाबा (जो अहिले फरार छन्)को मोबाइल हराएको थियो । ‘बाबाले नै अहिले सन्तोष गरीलाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको भन्ने बुझिएको छ ।
त्यसको भोलिपिल्ट तिनै सन्तोष मृत भेटिए,’ स्रोतले भन्यो, ‘मोबाइल नभेटिएपछि प्रहरीले छाडेका तिनै व्यक्तिलाई बाबाले आफ्नो नियन्त्रणमा लिएर रातभरि यातना दिएर हत्या गरेको हुन सक्ने देखिन्छ ।’
तान्त्रिक शक्ति प्राप्त हुने अन्धविश्वासका कारण हत्या भएको पनि प्रहरी अधिकारीहरू बताउँछन् । उक्त कुरा अहिले पक्राउ परेका बाबाले प्रहरीसमक्ष बताएका छन् ।