विश्वप्रकाशले सिटौलासँग सोधेः सात बुँदे प्रस्तावप्रति तपाईंहरूको धारणा के हो ?

काठमाण्डु टुडे २०८३ असार २ गते १७:२७ मा प्रकाशित

काठमाण्डू, २ असार– कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सात बुँदेप्रति संस्थापनइतरको धारणा आउनुपर्ने बताएका छन ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँग मंगलबार विहानको भेटमा उक्त प्रसंग उपसभापति शर्माले निकालेका हुन् । उपसभापति शर्माको काका वितेको आज पाँच दिन हुँदा झापामा रहेका सिटौला समवेदना दिन पुगेका थिए । त्यही समय शर्मा र सिटौला वीचमा १० देखि १५ मिनेटसम्म कुरा भएको झापाका कांग्रेस नेताहरूले बताएका छन ।

१६ जेठमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र गत आइतबार पाँच नेताहरूलाई सहमतिका लागि पठाइएको सात बुँदे प्रस्तावमा संस्थापनइतरबाट जवाफ नआएको उपसभापति शर्माले सिटौलासँग बताएका थिए ।

संस्थापनइतरका नेताहरू एक ठाउँमा बसेर त्यस सम्बन्धमा एउटा धारणा बनाउन समेत शर्माले सिटौलासँग अनुरोध गरेका थिए । सिटौलासँग राखेको प्रसंग सुनाउँदै झापाका एक नेताले शर्माको बोली उद्धृत गर्दै भने, ‘हाम्रो धारणा सभापति गगन मार्फत आउँछ ।

तपाईंहरूले बनाएको धारणा बाहिर ल्याउने को हो ? सात बुँदे ठिक वा बेठिक भन्ने व्यक्ति तपाईंहरूबाट को हो ? आधिकारिक धारणा ल्याउने व्यक्ति यो हो भनेर हामीले कसलाई चिन्ने ?’

सभापति र उपसभापति नै सहमतिका लागि सात बुँदे प्रस्ताव पठाउने, भेट्न जाने, वार्ता गर्ने लगायतका कार्य गरेको जानकारी शर्माले सिटौलालाई गराएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us