काठमाण्डू, २ असार– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको छलफल जारी रहेका समयमा सम्बन्धित मन्त्री बैठकमा सहभागी नभएपछि बैठक स्थगित भएको हो ।
बैठकमा सांसद गोपाल शर्माले संसद् नियमावलीअनुसार मन्त्रीहरू बैठकमा उपस्थित नभएको भन्दै प्रश्न उठाएपछि सभामुख डिपी अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरीएको जानकारी गराए । शर्माले सम्बन्धित मन्त्रीहरु बिना मन्त्रालयको शीर्षकमा छलफल हुन नसक्ने भन्दै आपत्ति जनाएका थिए ।
उनले मन्त्रीहरूले संसदको अपमान गरेको दाबी गरे । प्रधानमन्त्री कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयसहित ८ मन्त्रालयलाई विनियोजन गरिएको बजेटमाथि छलफल जारी रहेको समयमा ३ जना मात्र मन्त्री उपस्थित रहेका थिए ।