प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैनः कांग्रेस

काठमाण्डु टुडे २०८३ जेठ २५ गते १४:०७ मा प्रकाशित

काठमाण्डू, २५ जेठ– प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभाको रोष्टमबाट भारतको सीमा नेपालले मिचेको छ भन्दै दिएको अभिव्यक्तिमा माफी नमाग्दासम्म प्रतिनिधिसभाको कामकारबाही अगाडि बढ्न नसक्ने बताएको छ ।

आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा बैठकमा आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद सन्तोष सुब्बाले यस्तो बताएका हुन ।

प्रधानमन्त्रीले गत १९ गते संसद्‌मा दिएको मन्तव्यको घोर भर्त्सना गर्दै सो विषयमा तत्काल प्रष्टीकरण दिन माग गरेका हुन । चार दिनदेखि संसद् अवरुद्ध भइरहँदा पनि दलहरूबिच भएको छलफल र संवादको प्रगतिबारे सदनलाई जानकारी नदिइएकोमा सुब्बाले असन्तुष्टि समेत व्यक्त गरेका छन ।

कांग्रेस सांसद सुब्बाले भने, ‘हामीले ४ दिनदेखि संसद् अवरुद्ध गर्दा संवाद कहाँ पुग्यो ? के–कस्तो छलफल भयो रु यसबारे हामीले जानकारी पाउनुपर्छ ।’ संसद् ढिलो प्रारम्भ भएको र समय निकै कम भएकाले गम्भीर विषयहरू ओझेलमा पर्न नहुने समेत बताएका छन ।

सांसद सुब्बाले सभामुखलाई ‘अभिभावक’ को संज्ञा दिँदै संसद्लाई निकास दिनु सभामुखको दायित्व भएको बताए । उनले भने, ‘सभामुखलाई असफल हुने छुट छैन, तपाईंले हामीलाई डोहोर्‍याएर लैजाने हो। हाम्रा कमजोरी सच्याउन सकिन्छ, तर संसद्लाई सुचारु गर्न तपाईंले ठोस पहल गर्नुपर्छ ।’

संसद् अवरुद्ध हुँदा बजेटका महत्त्वपूर्ण विषयहरू, कृषिका समस्या, पहाडी र हिमाली क्षेत्रको बजेट विनियोजन र मुलुकको जटिल समस्याको रूपमा रहेको बसाइँसराइ जस्ता विषयमा छलफल हुन नपाएको सुब्बाको भनाइ छ ।

प्रधानमन्त्रीले संसद्प्रति उत्तरदायी भएर आफ्ना अभिव्यक्तिबारे स्पष्ट पार्नुपर्ने र नेपालको भूभाग मिचिएको विषयमा तथ्यगत रूपमा प्रस्तुत हुनुपर्ने कांग्रेसको माग रहेको समेत उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us