एमालेको कार्यविभाजनमा बास्कोटाको प्रश्न: ‘सोच्ने काम हाम्रो होइन, आदेश पालना गर्ने मात्र हो ?’

काठमाण्डु टुडे २०८३ जेठ २४ गते १३:१२ मा प्रकाशित

काठमाण्डू,२४ जेठ– पूर्व मन्त्री एवं एमाले नेता गोकुल बास्कोटाले पार्टीको कार्यविभाजन र कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन । एमाले नेता बास्कोटाले सामाजिक सञ्जालमा धारणा राख्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्र, निर्णय प्रक्रिया र कार्यकर्ताको भूमिकालाई लिएर प्रश्न उठाएका हुन ।

उनले फेसबुक पोस्टमार्फत आफूलाई खगोलशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान, प्राणीविज्ञान जस्ता विज्ञानका विषय मात्र नभई अङ्कगणित, बीजगणित, रेखागणित र इन्जिनियरिङको कुनै पनि ज्ञान नभएको भन्दै व्यङ्ग्यात्मक रूपमा विषयको उठान गरेका हुन ।

यति धेरै विधाको ज्ञान नभए पनि एमालेको हालैको कार्यविभाजन हेर्दा पार्टीभित्र कार्यकर्ता र तल्ला कमिटीको भूमिकामाथि उनले संशय व्यक्त गरेका छन । बास्कोटाले पार्टीको पछिल्लो कार्यविभाजनलाई सैनिक संगठनसँग तुलना गरेका छन् ।

एमालेको यो ढाँचा हेर्दा सोच्ने र नीति निर्माण गर्ने काम कार्यकर्ताको नभई केवल माथिको आदेश पालना गर्ने र लड्ने मात्र भएको उनले बताए । सोच्ने र विवेक प्रयोग गर्ने स्वतन्त्रता नभई केवल सैनिक ढाँचामा आदेश मात्र तामेल गर्ने हो भने एमाले देशको पहिलो पार्टी कसरी बन्छ भन्दै उनले कृत्रिम बौद्धिकतालाई सोधेका छन् ।

उनले लेखेका छन्, ‘न एष्ट्रोनोमी,न फिजिक्स,न केमेस्ट्री,न वायोलोजी न त जुओलोजी, अर्थमेटिक, अलजेब्रा, ज्योमेट्री, इन्जिनियरिङको कुनै हाँगो थाहा छैन ।

तर एमालेको कार्यविभाजन हेर्दा यस्तो लाग्छ, सोच्ने काम हाम्रो होइन, केवल आदेश पालना गर्नु र लड्नु हो, सैनिक संगठनमा जस्तै। म एआईलाई सोध्छु, एमाले पहिलो कसरी बन्छ ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us