रास्वपा पर्साको विवाद उत्कर्षमा, प्रतिनिधि चयनमा धाँधली भएको आरोप

काठमाण्डु टुडे २०८३ जेठ २३ गते १८:३३ मा प्रकाशित

पर्सा– जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पर्सा विवाद भएको छ ।

जिल्लाका दुई गुटबीचको विवाद उत्कर्षमा पुगेको हो । पर्सामा रास्वपाभित्र संस्थापक जिल्ला सभापति एवं क्षेत्र नम्बर–१ का सांसद हरि पन्त तथा २, ३ र ४ नम्बर निर्वाचन क्षेत्रका सांसदहरू सुशील साह कानु, रमाकान्त चौरसिया र टेकबहादुर शाक्यको फरक समूह छ ।
यसअघि दुई समूहबीच वीरगन्ज महानगरको महुदीन आलमलाई कानु, चौरसिया र शाक्य समूहका दीपराज पटेलले पराजित गरेका थिए । रास्वपा पर्साको प्रथम जिल्ला अधिवेशन आइतबार हुँदैछ ।

सांसद् त्रयको समूहले आइतबारका लागि निर्धारित जिल्ला अधिवेशन स्थगनको माष्ग गरेको छ । उक्त समूहले अधिवेशन रोक्न माग गर्दै मधेस प्रदेशकी उपसभापति राधिका न्यौपाने साह र मधेस प्रदेश संगठन विभाग उप–प्रमुख प्रमोद कुमार रायमाझीलाई विरोधपत्र बुझाएको छ ।

पन्त पक्षले जिल्ला अधिवेशनका प्रतिनिधि चयनमा धाँधली गरेको आरोप अर्को पक्षको छ । जिल्लाका १४ पालिकाबाट जिल्ला अधिवेशनका प्रतिनिधि चयन गर्दा एकलौटी गरेको आरोप इतर समूहले लगाएको छ ।

पन्तले भने अधिवेशन प्रतिनिधि चयनमा आफूले कुनै हस्तक्षेप नगरेको दाबी गरेका छन् । पन्तले पूर्वनिर्धारित मितिमा आइतबार जिल्ला अधिवेशन हुने स्पष्ट गरे ।

सभापतिमा पन्त र अर्का क्षेत्र नम्बर–२ का सांसद् कानू आकांक्षी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us