दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छः परराष्ट्रमन्त्री

काठमाण्डु टुडे २०८३ जेठ ३ गते १३:२६ मा प्रकाशित

काठमाण्डू, ३ जेठ– परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएका छन । टोखा नगरपालिकाले आज आयोजना गरेको आर्थिक वर्ष ०८३–८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि सल्लाह, सुझाव संकलन कार्यक्रममा उनले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएका छन ।

उनले अबको समय राजनीतिक लाभभन्दा माथि उठेर काम गर्ने बेला आएको पनि उनले पनि बताएका छन । ‘अबको २०–२५ वर्षपछिको पुस्ताले पनि सम्झिने गरी काम गर्ने अवसर अहिलेको स्थानीय तहका जनप्रतिनिधिमा छ, त्यसैले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा केन्द्रित हुनुहोस् ।’ काठमाण्डू– ६ का सांसदसमेत रहेका मन्त्री खनालले टोखाको दक्षिणी भेग निकै बाक्लो बस्तीले भरिएको र उत्तरी भेगमा अझै पनि खुला जमिन बाँकी रहेको भन्दै व्यवस्थित सहर निर्माणमा ध्यान दिनुपर्ने बताएका छन ।

उनले टोखाको ऐतिहासिक नेवारी बस्ती र शनिबार लाग्ने बजारलाई व्यवस्थित गर्दै पर्यटन प्रवर्द्धन गर्न जरुरी रहेको पनि बताएका छन । टोखामा घरबास ‘होमस्टे’ विकास गर्न सकिने उनको भनाइ थियो । मन्त्री खनालले टोखा–छहरे सुरुङ मार्ग विस्तार गर्दा टोखाका धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले यसको विकल्प खोज्नुपर्ने पनि बताएका छन ।

साङ्ला खोला करिडोर र विष्णुमती खोला करिडोरलाई उक्त राजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्दा कम लागत र कम क्षतिमा अन्तरराष्ट्रिय मापदण्डको सडक बनाउन सकिने पनि उनले बताए ।

उनले नगरपालिकालाई थप प्रविधिमैत्री बनाउन कर तिर्नेदेखि सामान्य सिफारिस लिने काम घरबाटै गर्न सकिने गरी ‘डिजिटल’ प्रणाली लागु गर्नुपर्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us