
काठमाण्डू, ११ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महत्वपूर्ण विधेयक सदनबाट पारित हुन भनेर आफू सरकारसँग केही लचिलो भएको प्रतिक्रिया दिएका छन ।
आज (बुधबार) बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल माओवादीले सरकारसँग दुई बुँदे सहमति गरेपछि प्रचण्डको आलोचना भएको थियो ।
‘सरकारसँग केही लचिलो भएर महत्वपूर्ण समझदारी कायम गरौं भन्नुको पछाडि महत्वपूर्ण विधेयकहरू पारित गर्ने सोच पनि हो,’ बैठकमा उनले भने, ‘संसदीय समितिमा लामो छलफल भएको हुन्छ, उपसमिति बनेको हुन्छ, त्यसले काम गरेर समितिले पातिर गरेर विधेयकहरू फूल हाउसमा पुर्याएँछ । तर, त्यहाँ कार्यसूचीमा चढेर पनि फर्किने र लामो समयसम्म रोकिने गरेका छन् ।’
संघीय निजामति, विद्यालय शिक्षा, नागरिकता संशोधन, संघीय प्रहरी जस्ता ऐन अत्यावश्यक भइसकेकाले त्यतिकै टारिने त होइन भन्ने लागेर पनि सरकारसँग लचिलो भएको स्पष्टीकरण दिए । ‘त्यतिकै टारिने त होइन भन्ने लाग्ने गरेको छ ।
त्यसैले पनि लचिलो हुनु परेको छ,’ केही दिनअघि संसद्को कार्यसूचीमा चढेर फर्किएको संघीय निजामति विधेयकतर्फ संकेत गर्दै प्रचण्डले भने ।