
काठमाण्डू, ८ असार– स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफूले ५ ठूला नेता र मन्त्रीहरुका जिल्लामा मात्र बजेट खन्याइएको विषयमा गरेको ब्यंग्यलाई अपव्याख्या गरी जनतामा भ्रम फैलाउने प्रयास भएको बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी वर्षको बजेटबारे बोल्ने क्रममा ५ जिल्लाबाहेकलाई अमेरिका, भारत र चीनलाई भाडामा दिए हुन्छ भन्ने अभिव्यक्ति दिएका थिए ।
उनको अभिव्यक्तिलाई लिएर एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले नियमापत्ति गरेका थिए । बर्तौलाको मागअनुसार सभामुख देवराज घिमिरेले सिंहले बोलेका शब्द संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए ।
नेपालीलाई विदेशमा बेच्नेहरुले आफ्नो राष्ट्रियता र देशभक्तिको भावनामा प्रश्न उठाएको भन्दै सिंहल आक्रोश पोखे । संसदमा एक्लै रहेको आफूले नभई सरकारमा भएकाहरुले देश बेच्न सक्ने उनको तर्क थियो ।
‘५ जना प्रभावशाली नेताका जिल्लामा मात्र बजेट खन्याइएको विषयमा मैले ब्यंग्य गरेर बोलेको हुँ’, सिंहले काठमाण्डूटुडेसँग भने, ‘बेरोजगार नेपाली युवालाई विदेशमा बेचेर गोजी भर्नेहरुले मेरो राष्ट्रभक्तिको भावनामाथि प्रश्न उठाउनु हाँस्यास्द हो ।’
आगामी आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री केपी ओलको गृहजिल्ला झापा, काँग्रेस सभापति शेरबहादुर देउवाको जिल्ला डडेल्धुरा, अर्थमन्त्री विष्णु पौडेलको जिल्ला रुपन्देही, सहरी विकासमन्त्री प्रकाशमान सिंहको जिल्ला काठमाण्डू र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जिल्ला चितवनमा अत्याधिक बजेट विनियोजन गरिएको उनको आरोप छ । ‘के पाँच जिल्ला मात्र नेपालमा पर्छ ? अरु ७२ जिल्ला नेपाल होइन ? त्यहाँका जनतालाई सडक, बत्ती, पानी, विद्यालय केही चाहिंदैन ?’, सिंहले भने ।
उनले उपसभामुख इन्दिरा रानामगरलाई मानव तस्करी प्रकरणमा मुद्दा चलाउने तयारी भएको थापा पाएपछि सार्वजनिक गरेको तथा बेथिति, भ्रष्टाचार र कूशासनविरुद्ध लगातार बोल्दै आएका कारण पूर्वग्रहपूर्ण ढंगले गलत प्रचार गरिएको टिप्पणी गरे ।
‘म संसद् र संसदबाहिर मुलुक र जनताको पक्षमा र भ्रष्टाचार, अनियमितता, ठगी र लुटतन्त्रबारे निरन्तर रुपमा बोल्दै आएको छु’, सिंहले भने, ‘झोलेहरुलाई मेरो कुराले तनाब भइरहेको थियो । ब्यंग्य गरेको कुरालाई लिएर मेराविरुद्ध कूप्रचार गरेका छन् ।’