यी दुई उपप्रधानमन्त्री ०८४ को चुनावबाट संसद्‍मा नआउन् भनेर प्रार्थना गर्छुः कांग्रेस सांसद तामाङ

काठमाण्डु टुडे २०८२ असार ८ गते १७:४७ मा प्रकाशित

काठमाण्डू, ८ असार– सत्ता घटक दल कांग्रेसका सांसद पूर्णबहादुर तामाङले उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल आगामी निर्वाचनबाट संसद्‍मा नआउन् भनेर प्रतिनिधिसभाको रोस्ट्रमबाट नै प्रार्थना गरेका छन् ।

आज (आइतबार) बसेको प्रतिनिधि सभाको सांसद तामाङले बजेट विनियोजनमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री सिंह र उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले मन्त्रालयगत आयोजना वितरण गर्दा आ–आफ्ना निर्वाचन क्षेत्र र जिल्लालाई मात्रै केन्द्रित गरेको भन्दै आक्रोस पोखे ।

सिंहले काठमाण्डू र पौडेलले रुपन्देहीमा मात्रै बजेट केन्द्रित गरको कांग्रेस सांसद तामाङको आरोप थियो । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘०८४ को चुनावमा यी दुईवटै उपप्रधानमन्त्री यो हाउसमा नआओस् भन्ने कुरा बुद्ध भगवान र पशुपितिनाथसँग प्रार्थना गर्छु ।’

तामाङले दुवै उपप्रधानमन्त्रीलाई सोधे, ‘यहाँहरूले ३ करोडभन्दा मुनीको बजेट विनियोजन नगर्ने भन्नुभएको होइन, उपप्रधानमन्त्रीहरूले रु आज काठमाडौं जिल्लामा २ लाखदेखि २ करोडसम्मका १५० योजना छन् ।

रुपन्देहीमा ७९ वटा हाल्ने ? यसरी चल्छ ?’ दुवैजना प्रधानमन्त्रीको लाइनमा रहेका तर बजेट विनियोजनमा आफ्नो जिल्लामा मात्रै संकृर्ण बनेको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us