
काठमाण्डू, ८ असार– सत्ता प्रमुख घटक दल नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आवश्यकताको आधारमा योजना छनोट नगरेको आरोप लगाएका छन ।
काठमाण्डूमा बसेर काठमाण्डूमै मात्रै योजना हालेको भन्दै उनले प्रकाशमान सिंह देशभरिको नेता बन्न नसक्ने उनको तर्क छ । पार्टीमा पनि नेता रहेका प्रकाशमान सिंहले बजेटमा गरेको असमान वितरणको हिसाब किताब पार्टीको १५ औं महाधिवेशनमा गर्ने चेतावनी समेत दिएका छन । ‘तपाईं सुध्रिनुस् भनेर भनिदिएको हो ।
हरेक मान्छेले तपाईंलाई चयाप्दै ल्याएको छ,’ उनी भन्छन्, ‘१५औं महाधिवेशनमा तपाईंसँगको कुराको छलफल हुन्छ । हामी पनि महाधिवेशन चुनाव जितेर आउँला नि ।’ बजेटको असमान वितरणबारे पार्टीमै कुरा राख्न खोजेको पनि उनले बताए । दलले बैठक नराखेकोले संसद्मै राखेको उनले बताए । पार्टी सभापति हुने भनेर आशा गरेको व्यक्तिबाट असमान बजेट वितरण हुनुले दुस्ख लागेको उनको भनाइ छ ।
सांसद तामाङले अर्थमन्त्री विष्णु पौडेले पनि आफ्नो र शीर्ष नेताको निर्वाचन क्षेत्र मात्रै हेरेको आरोप लगाए । सहरी विकास मन्त्री र अर्थमन्त्रीले मित लगाए जस्तो योजना साटासाट गरेको उनको आरोप छ ।