
काठमाण्डू, ८ असार– आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको खोजी भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बजेटमाथिकै छलफलमा प्रधानमन्त्री ओली अनुपस्थित रहेको भनेर उनको खोजी भएको हो ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहले संसद्मा प्रधानमन्त्री ओलीको खोजी गरेका हुन् । आजको बैठकमा उनले भने, ‘प्रधानमन्त्री भन्नुहुन्छ– म जनताप्रति उत्तरदायी नै छु ।
तर, आज प्रधानमन्त्री कार्यालयकै विषयमा छलफल चलिरहेको छ प्रधानमन्त्रीजी यहाँ हुनुहुन्छ ।’ प्रधानमन्त्रीले संसद्लाई कति प्राथमिकता दिएका छन् भन्ने उनको अनुपस्थितिले देखाउने साहको टिप्पणी छ ।
काठमाण्डूमा नै रहेर प्रधानमन्त्री ओली संसद्मा बजेटमाथिको छलफलमा सहभागी नभएको भनेर उनले प्रश्न उठाएका हुन् । प्रधानमन्त्री कार्यालयकै बजेटमाथिको छलफलमा प्रधानमन्त्री सहभागी हुनैपर्नेमा त्यसो हुन नसकेको भनेर उनले सभामुख र सरकारको ध्यानाकर्षण समेत गराए ।