
काठमाण्डू, ७ असार– पछिल्लो दुई दिनको भारी वर्षापछि बाढी र पहिरोका कारण विभिन्न क्षेत्रका १० स्थानमा अवरुद्ध भएका सडकमध्ये आजसम्म ७ स्थानमा यातायात सञ्चालनमा आएका छन् ।
अझै तीन स्थानमा भने सडकमा यातायात ठप्प रहेको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।
उनका अनुसार नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनयी खोलामा डाइभर्सन बगाउँदा सडक अझै सञ्चालनमा आउन सकेको छैन। त्यहाँ हिजो यात्रुबाहक गाडी बगाएको थियो भने यात्रुहरूलाई सकुशल उद्धार गरिएको थियो ।
रोल्पाको त्रिवेणी गाउँपालिका–७ जङडाँडामा पहिरोले घोराही–रुकुम सहिदमार्ग अवरुद्ध भएको छ । पहिरोकै कारण पाल्पाको तिनाउ नगरपालिका–३ स्थित सुरुङमार्गमा सडक अवरुद्ध हुँदा सिद्धार्थ राजमार्ग बन्द भएको छ । ती सडकहरू खुलाउने प्रयास भने जारी रहेको प्रवक्ता घिमिरेले बताए ।
उनका अनुसार ललितपुरको बागमती गाउँपालिकामा पहिरोले अवरुद्ध भएको कान्ति लोकपथ पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ । यस्तै, धनकुटाको साँगुरीगढी गाउँपालिकामा पहिरोले अवरुद्ध सडक, नवलपरासी बर्दघाट सुस्ता पूर्वको बुलिङ्टारमा कालिगण्डकी करिडोर, म्याग्दीको बेनी–जोमसोम सडक, गुल्मीमा अवरुद्ध कालिगण्डकी करिडोर पनि पहिरो पन्छाएर सडक खुलाइएको प्रहरीले जनाएको छ ।
यस्तै, जुम्लामा अवरुद्ध जुम्ला–मुगु सडक, डोल्पामा बाढीका कारण अवरुद्ध भेरी करिडोर पनि एकतर्फी खुलाइएको र दुईतर्फी बनाउन प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
शुक्रबारदेखि देशभर नै मनसुन फैलिएकाले मनसुनी वायुको प्रभाव देशभर देखिएको छ। त्यसका कारण जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन प्रहरीले सबैमा अनुरोध गरेको छ ।