
काठमाण्डू, ७ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति स्वर्णिम वाग्लेले आगामी ०८४ सालको निर्वाचनपछि आफ्नो दल मूलधारको राजनीतिको निर्णायक शक्ति बन्ने दाबी गरेका छन् ।
पार्टी स्थापना दिवसका अवसरमा शनिबार काठमाण्डूको माइतीघरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले पार्टी मुलधकारको राजनीतिमा निर्णायक शक्तिका रुपमा स्थापित नभएसम्म कारागारमा रहेका सभापति रवि लामिछानेले न्याय पाउन नसक्ने बताए ।
लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएकाले उनले न्याय पाउन राजनीतिक लडाइँ लड्नुपर्ने उनको भनाइ थियो । वाग्लेले पार्टीले हाल सुरू गरेको आन्दोलन र अभियान नरोकिने उल्लेख गरे ।
‘कहिले निलो रिबन लगाएर उभियौंला । कहिले पलेँटी कसेर बसौंला । कहिले बहिष्कार नै गरौंला कहिले सडकमै उत्रिएर यसरी लल्कारौंला’, वाग्लेले भने, ‘हाम्रो सभापतिमाथि राजनीतिक प्रतिशोध साँधिएको हुनाले हामीले पनि राजनीतिक लडाइँ नै लड्नुपर्ने हुन्छ ।’
आफूहरु अनुभावका आधारमा नयाँ भए पनि बेबकुफ नरहेको भन्दै उनले संख्यामा सानो भए पनि रास्वपाका १९ सांसद् नहुने हो भने संसद पंगु हुने दाबी गरे । वाग्लेले गृहमन्त्री रमेश लेखक प्रत्यक्ष परोक्ष रुपमा मानव तस्करीमा संलग्न रहेको आरोप लगाए ।