देउवाको गृहजिल्ला डडेल्धुरामा ३ करोडमाथिका ७५ योजनामा बजेट

काठमाण्डु टुडे २०८२ असार ७ गते १५:१६ मा प्रकाशित

काठमाण्डू, ७ असार– नेकपा एकीकृत समाजवादीका सांसद् किसानकुमार श्रेष्ठले काँग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा तीन करोडभन्दा माथिका ७५ वटा योजना राखिएकामा आपत्ति जनाएका छन् ।

आर्थिक वर्ष ०८२/०८३ का लागि विनियोजित बजेटमाथि प्रतिनिधिसभामा खर्च कटौतीको प्रस्तावमा बोल्दै शनिबार उनले बजेट आवश्यकताका आधारमा नभई प्रधानमन्त्री र मन्त्रीहरुका निर्वाचन क्षेत्रमा बजेट खन्याइएको आरोप लगाए ।

मनपरी ढंगले बजेट विनियोजन हुँदा पनि सत्ता पक्षका सांसदहरु बोल्न नसकेको उनले बताए । यद्यपि कोही पनि सांसद विनियोजनप्रति सन्तुष्ट नरहेको श्रेष्ठको भनाइ थियो ।

‘पार्टीले कोर्रा हिर्काउने डरले सत्तापक्षका माननीयहरु बोल्न सक्नुभएन’, श्रेष्ठले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरुले बजेट धेरै हालेपछि ०८४ मा चुनाव जितिन्छ भन्ने ठान्नुभएको होला ।

देशको ढुकुटी दुरुपयोग गर्नेलाई जनताले छानीछानी हराउँछ ।’ उनले आफ्नो निर्वाचन क्षेत्रमा मात्र बजेट खन्याउने मन्त्रीहरुलाई आफूसँग चुनाव लडेर हराउन चुनौती दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us