
काठमाण्डू, ६ असार– सरकारले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि प्रस्तुत बजेटप्रति प्रमुख सत्तारुढ घटक काँग्रेसकै सांसदहरुले आपत्ति जनाएका छन् ।
विभिन्न मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबारेको छलफलमा सहभागी सांसदहरुले शुक्रबार प्रधानमन्त्री केपी ओली, अर्थमन्त्री विष्णु् पौडेलसहित मन्त्रीहरुको आलोचना गरे । विनियोजन गर्दा क्षेत्रीय सन्तुलन, प्राथमिकता र मुलुकको आवश्यकता भन्दा प्रधानमन्त्री र मन्त्रीहरुको जिल्ला र निर्वाचन क्षेत्र केन्द्रित बजेट निर्माण गरिएको टिप्पणी उनीहरुको छ ।
काँग्रेस सांसद दीपक गिरीले प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्र झापा–५ मा मात्र ३ करोड रुपैयाँका ११ वटा आयोजनामा रकम विनियोजन गरिएकामा आपत्ति जनाए । उनले ती योजनारुको नामै पढेर सुनाएका थिए ।
उनले मध्यपश्चिमका डोल्पा, रुकुम, रोल्पा, जाजरकोट समेतका लागि अत्वावश्यक दाङको टरिगाउँ विमानस्थलका लागि न्यून बजेट छुट्याइएकोमा आक्रोश व्यक्त गरे ।
एयरपोर्ट बनाउन जमिन अधिग्रहणका लागि मात्र अनुमानित ७० देखि ९० करोड लाग्नेमा सरकारले एक करोड मात्र विनियोजन गरेको भन्दै निन्दा गरे ।
प्रधामन्त्री केपी ओलीले प्रतिनिधिसभाको रोष्ट्रममै उभिएर टरीगाउँ एयरपोर्ट भन्ने प्रतिबद्धता गरेर पनि ढाँटेको उनको भनाइ थियो । प्रधानमन्त्री ओली, अर्थमन्त्री विष्णु पौडेल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले समेत प्रतिबद्धता जनाएपछि आफूले जिल्लाबासीलाई टरी गाउँ एयरपोर्ट बन्छ भन्ने सन्देश सुनाएको उनले उल्लेख गरे ।
‘प्रधानमन्त्रीले टरी गाउँ एयरपोर्ट बन्छ भन्नुभयो । मैले ताली ठोकें । अर्थमन्त्रीज्यूलाई भेटें । जग्गा अधिग्रहणका लागि मात्र ७० देखि ९० करोड लाग्छ केही गर्नुस् भनेको थिएँ । प्रधानमन्त्री केपी ओलीसँग मलाई विश्वास थियो । अर्थमन्त्री विष्णु पौडेलसँग र युवा नेता बद्री पाण्डे मन्त्रीजीसँग पनि मलाई विश्वास थियो’, गिरीले भने, ‘संसदमा तीन करोड भन्दा कम बजेट विनियोजन गर्दिन भन्नुभएको अर्थमन्त्रीले टरी गाउँ एयरपोर्टका लागि १ करोड बजेट छुट्याउनुभएछ । अब मौले उहाँहरुलाई अभिनन्दन गरौं ? अथवा मला पहि-याऔं ? जनताको प्रतिनिधिलाई नंग्याउन खोजेको हो कि यो के गरेको हो ? ।’
गिरीले सत्तापक्षको सांसद भएर पनि आफू लज्जित हुनुपरेको बताए । बजेट जनताको, सत्तापक्ष र सत्तापक्षका सांसदहरुको नभई प्रधानमन्त्री र मन्त्रीहरुको मात्र भएको आरोप उनले लगाए ।
बजेटले जनता नदेखेको तथा सांसदमैत्री हुनुभन्दा प्रधानमन्त्री र मन्त्रीमैत्री मात्र भएको टिप्पणी गरे ।
‘बडो खुसीसाथ बोलौंला भन्ने लागेको थियो । तर, यो ०८२/०८३ को बजेटले नेपाली जनतालाई पनि देखेन । न त यो विकासमेत्री भयो, न लगानी मैत्री भयो । न त सरकार पक्षमैत्री भयो, यो त केबल प्रधानमन्त्री र मन्त्री मैत्री भयो’, गिरीले भने ।