जब प्रधानमन्त्रीले ट्राफिक प्रहरी प्रमुखलाई ओभरपासको रिबन काट्न लगाए…

काठमाण्डु टुडे २०८२ असार ६ गते १७:२६ मा प्रकाशित

काठमाण्डू ६ असार– चार वर्षभन्दा बढी समय लगाएर तयार भएको ललितपुरको ग्वार्को ओभरपास उद्घाटन गर्न शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली जाने कार्यक्रम तय भएको थियो । त्यही अनुसार, ओभरपासको एक छेऊमा सानो शिलालेख निर्माण गरिएको थियो, जहाँ ‘प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गरिएको‘’ भन्ने उल्लेख थियो ।

सडकमा रातो रिवन काटेर प्रधानमन्त्रीबाट सडक उद्घाटन गराउने तयारी भौतिक पूर्वाधार मन्त्रालयको थियो । तर, मन्त्रालयका सचिव केशवकुमार शर्मा, पूर्वसांसद् नवराज सिलवालसहित शुक्रबार अपराह्न सडकमा देखिएका ओली आफैंले रिबन भने काटेनन् ।

शिलालेख छोपिएको कपडा प्रधानमन्त्रीले उघार्ने वित्तिकै रिबन काटेर उद्घाटन गर्न संकेत गर्दै सचिवले प्रधानमन्त्री ओलीलाई कैंची दिन खोजे । तर, ओलीले पछाडि हेर्दै ट्राफिक प्रहरीको खोजी गर्न थाले । उनले ट्राफिक प्रहरीलाई बोलाउन भनेपछि शर्माले केही पछाडि रहेका उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीलाई अगाडि आउन संकेत गरे ।

प्रधानमन्त्री ओलीले नै खोजेपछि एसएसपी अधिकारी मुस्कुराउँदै अगाडि आएर अभिवादन गरे । ओलीले उनलाई कैंची दिँदै रिबन काट्न भने । ‘प्रधानमन्त्रीज्यूले यसले ट्राफिकलाई सहज हुने हो भन्दै मलाई कैंची दिनुभयो’, एसएसपी अधिकारी भन्छन्, ‘त्यसपछि मैले रिबन काटेँ ।’

सिमसिमे पानीका बीच एसएसपी अधिकारीले रिबन काटेपछि प्रधानमन्त्री ओलीसहित उपस्थित अन्यले ताली बजाए । यसपछि अहिले ग्वार्कोमा औपचारिक कार्यक्रम चलिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us