बजेट पैतृक सम्पत्तिजस्तो गरी वितरण गरियोः प्रभु साह

काठमाण्डु टुडे २०८२ असार ६ गते १७:१५ मा प्रकाशित

काठमाण्डू ६ असार– प्रतिनिधिसभा सदस्य प्रभु साहले सरकारले बजेट पैतृक सम्पत्तिजस्तो गरी वितरण गरेको आरोप लगाएका छन । आज (शुक्रबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विनियोजित बजेटप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले जनताको पसिनाबाट तिरिएको करलाई समान रूपमा विनियोजन नगरिएको भन्दै आपत्ति समेत व्यक्त गरे । सांसद साहले भने, ‘आज सरकारी बजेट निजीजस्तो भएको छ । जनताले तिरेको कर पसिना हो कि नेताज्यूहरूको पैतृक सम्पत्ति हो भन्ने प्रश्न खडा भएको छ ।

जसरी पैतृक सम्पत्तिलाई परिवारको सदस्यहरूले भागबन्डा गर्छन्, त्यसैगरी नेताज्यूहरूले भागबन्डा गरेर दुरुपयोग गरिरहेका छन् । किन समान वितरण भएन ? अहिले सबै मन्त्रालयको हेर्ने हो भने त्यही हालत छ ।’

नेता साहले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट विनियोजनप्रति असन्तुष्टि व्यक्त गरे । उनले भौतिक मन्त्रालयको विनियोजित रकम एक खर्ब ५१ अर्ब रहेको र त्यसलाई १६५ निर्वाचन क्षेत्रमा बाँड्दा ९१ करोडभन्दा एक निर्वाचन क्षेत्रले पाउने बताए । यसरी बजेट पाउने हक ती क्षेत्रका जनतालाई हुने उनको भनाइ छ ।

‘मेरो क्षेत्रको त्यो हक होला नि ? सबै क्षेत्रका जनताको त्यो समान हक होला नि रु किन परेन ? के त्यो क्षेत्रमा सडक आवश्यक छैन ?’ प्रश्न गर्दै उनले भने । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताले तिरेको राजश्व फिर्ता गर्न सुझाव दिए ।

जनताको प्रधानमन्त्री बन्नेहरूले यो हदसम्मको बेइमानी गर्न नहुने उनको भनाइ छ । ‘थोरै पनि लाज लाग्छ प्रधानमन्त्रीलाई भने त्यहाँको जनताको राजश्व फिर्ता गर्नुस् । त्यहाँको जनताको तपाईँ प्रधानमन्त्री होइन ।

त्यहाँको मन्त्री पनि होइन । यदि तपाईँ सबैको हो भने किन बेइमानी गर्नुभयो ?’ प्रश्न गर्दै नेता साहले भने । साथै, यातायातमा वृद्ध, वृद्धा र विद्यार्थीहरूलाई काठमाडौँमा मात्रै छुट उपलब्ध गराइएको उनले बताए । काठमाण्डू बाहिरका नागरिकहरूले पनि यातायातमा छुटको सुविधा पाउनुपर्ने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us