
काठमाण्डू, ५ असार– कांग्रेस नेता एवं पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीशहरू खुशीप्रसाद थारु र अर्जुन महर्जन न्याय परिषदमा तानिएका छन ।
उनीहरूलाई परिषदमा तान्ने निर्णय भएको न्याय परिषद् स्रोतले जानकारी दिएको छ । बिहीबार बसेको परिषद् बैठकले छानबिन समिति बनाएर उनीहरुलाई परिषदमा तान्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।
न्यायाधीशद्वय थारु र महर्जनले गत जेठ १४ गते व्यक्तिलाई जिउँदै इँट्टाभट्टामा पोलेर हत्या गरेको अभियोगमा यसअघि जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई कारागारमा रहेका पूर्वसांसद आलमलाई सफाइ दिएका थिए ।
आलमलाई सफाइ दिने न्यायाधीशद्वयविरुद्ध परिषदमा दुई वटा उजुरी परेका छन् । बम काण्डमा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बुवा श्रीनारायण सिंह राजपूतले आलमलाई सफाइ दिने न्यायाधीशहरूलाई कारबाही गर्न मागसहित गत मङ्गलवार र त्यसअघि जेठ १६ गते युवराज पौडेल सफलले उजुरी दिएका थिए ।