राजावादीको सम्पत्ति छानबिन गर्नुपर्छ, रास्वपालाई नैतिकता सिकाउनुपर्छः कांग्रेस सांसद बस्नेत

काठमाण्डु टुडे २०८२ असार ५ गते १६:०९ मा प्रकाशित

काठमाण्डू, ५ असार– नेपाली कांग्रेसका नेता जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नैतिकता सिकाउनु पर्ने र राजावादीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।

आज (बिहिबार) बसेको राष्ट्रिय सभाको विहीबारको बैठकमा कांग्रेस सांसद बस्नेतले यस्तो बताएका हुन । रास्वपाले भिजिट भिसा प्रकरणमा नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिरहेका बेला कांग्रेस नेता बस्नेतले उल्टै रास्वपालाई नै नैतिकताको पाठ पढाउनुपर्ने बताए ।

बस्नेतले भने, ‘तपाईंहरुको पार्टी सभापतिलाई मुद्दा लगाएको छ । पार्टी सभापति जेलमा हुनुहुन्छ । जेलमा जाने पार्टी सभापति संसदीय दलकै नेता बस्नुपर्ने अनि पार्टी सभापति छोड्न नहुने ? अनि हामी नेपाली कांग्रेसलाई चाहिँ नैतिकता सिकाउने । यो कस्तो नैतिकताको कुरा हो ?’ बस्नेतले राजावादीहरुलाई पनि निशाना साँधे ।

उनले राजावादीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन । कांग्रेस सांसद बस्नेतले भने, ‘३० वर्षे शासन, ४० वर्षे शासन गरेर आएका व्यक्तिहरु आज हेरौंन उनीहरुका महलहरु । पञ्चका महलहरु हेरौंन ।

आज सम्पत्ति उनीहरुको जाँच्नुपर्ने हो ।’ उनले नेपालमा राजा फर्किन नसक्ने समेत बताए । ‘एउटा कुरा म प्रष्ट के भन्न चाहन्छु भने यो देश हामीले बनाउने हो, गणतन्त्र हामीले ल्याएको हो र राजा हामीले फालेको हौं । अब राजा आउन सक्दैन,’ उनले भने, ‘अब चारवटा तासको पत्तामा चाहिँ राजा रहन्छ ।’ राजालाई विष्णुको अवतारको मान्ने राजावादीहरुलाई पनि उनले व्यंग्य गरे ।

उनले भने, ‘विष्णुको अवतार राजा भएको भए मूर्ति चोरिने थिएन होला, गजुरहरु चोरिने थिएन होला, कोकिनको ट्रान्जिट व्यापार हुने थिएन होला, ड्रग्सको व्यापार हुने थिएन होला । सबैकुछ गर्ने अनि विष्णुको अवतार भन्ने रु विष्णुको अवतारले त गर्दैन होला । म पनि कट्टर हिन्दु नै हुँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us