महानगर स्रोत व्यवस्थापन समितिको बैठक बोलाउने बालेनको तयारी

काठमाण्डु टुडे २०८२ असार ५ गते १५:२९ मा प्रकाशित

काठमाण्डू, ५ असार– काठमाण्डू महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बोलाउने तयारी गरेका छन् । मेयर साहले आगामी बजेटका लागि आज स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बोलाउने तयारी गरेको मेयर साहको सचिवालय स्रोतले जानकारी दिएको छ ।

मेयर साहको संयोजकत्वमा रहेको समिति बैठक यसअघि नै बस्नुपर्ने भए पनि बस्न नसकेको मेयर सचिवालयले जानकारी दिएको छ । मेयर शाहले बैठक राख्न बारम्बार प्रयास गरे पनि सहमति जुटाउन नसक्दा ढिलाइ भएको सचिवालयले जनाएको छ । उनले समिति सदस्यहरू बजेटका विषयमा वडामा योजना छनोटमा व्यस्त हुँदा बैठक बस्न नसकेको बताए ।

उनले बिहीबार बेलुकासम्म भए पनि बजेट सिलिङ तोक्नको लागि समिति बैठक बस्ने तयारी रहेको बताए । मेयर साहले समितिको बैठक बोलाउने तयारी गरे पनि सदस्य सचिव रहेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई भने अहिलेसम्म जानकारी नदिएको पाइको छ । मेयर साहले गुरागाईँ बिना नै बैठक राख्ने तयारी गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले मेयरले बैठक राख्ने भनिए पनि आफूलाई अहिलेसम्म कुनै जानकारी नभएको बताए । उनले भने,‘ मलाई कुनै जानकारी आएको छैन । बजेट बनाउनको लागि बैठक बस्नु पर्ने हो ।

तर मलाई कुनै जानकारी नआएकाले थाहा छैन ।’ महानगरका प्रवक्ता नवीन मानन्धरले बैठकको टुङ्गो नलागेको बताए । उनले बैठकका विषयमा अहिलेसम्म जानकारी नआएको बताए ।

उनले बैठक कहिले र कतिबेला बस्ने भन्ने टुङ्गो लागि नसकेको जानकारी दिए । समिति सदस्यहरूलाई अहिलेसम्म कुनै जानकारी नआएको उनको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us