मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु

काठमाण्डु टुडे २०८२ असार ५ गते १०:२० मा प्रकाशित

काठमाण्डू, ५ असार– रौतहट स्थित मोबाइल चार्ज गर्ने क्रममा विद्युतीय करेन्ट लागेर एकजना गर्भवती महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर नगरपालिका–३ डमार पोखरीया गाउँकी ३५ वर्षीय गुलनाज खातुन रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिएका छन ।

बुधबार दिउसो साढे ३ बजेको आफ्नै घरमा मोबाइल चार्जमा लगाउन जाँदा खातुन लाई विद्युतीय करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएकी खातुनलाई प्रादेशिक अस्पताल गौरमा उपचारको लागि लैजाँदा साँझ ५ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । मृतक खातुन गर्भवती रहेको प्रादेशिक अस्पताल गौरका मेसु डाक्टर मुरारी ठाकुरले बताएका छन् ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको तथा घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us