तीनकुनेमा दुर्गा प्रसाईंको गाडीभित्रबाट भिडियो खिच्ने पत्रकारलाई ५ हजार धरौटीमा छाड्न आदेश

काठमाण्डु टुडे २०८२ असार ४ गते १६:५४ मा प्रकाशित

काठमाण्डू, ४ असार– जिल्ला अदालत काठमाण्डू गत चैत १५ गते तीनकुनेमा क्षेत्रमा राजावादी समुहले गरेको हिंस्रक प्रदर्शनका क्रममा पक्राउ परेका नेपाल पुकार डटकमका सम्पादक प्रकाशचन्द्र दाहाललाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

बुधबार न्यायाधीश रेशराज शर्माको इजलासले दाहालले पेसागत कार्यअन्तर्गत उक्त भिडियो खिचेको ठहर गर्दै उनलाई थुनामा राख्नुपर्ने अवस्था नदेखिएकाले पुर्पक्षका लागि धरौटीमा छाड्न आदेश जारी गरेको हो ।

उक्त आन्दोलनका क्रममा दाहालले मुख्य आरोपी दुर्गा प्रसाईंको गाडीभित्रबाट भिडियो खिचेका थिए । दाहाललाई राज्यविरुद्ध कसुरलगायतका आरोप लगाउँदै मुद्दा दायर भएको थियो ।

दाहालले खिचेका ती भिडियो र तस्बिर घटनाको अनुसन्धानका लागि पनि प्रयोग भएका थिए । दाहालले थुनछेक बहसका क्रममा आफू लुटपाट र आगजनीजस्ता समाजलाई आतङ्कित बनाउने कार्यमा सहभागी नभएको र समाचार सङ्कलनका क्रममा ती भिडियो आफ्नो च्यानलमार्फत प्रकाशन गरेको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us