काठमाण्डू, ४ असार– कर्णाली विकास बैंक घोटाला प्रकरणमा तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पनि पक्राउ परेका छन । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।
तत्कालीन वित्त प्रमुख ठकुरीलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले जानकारी दिए । ‘उहाँलाई पक्राउ गरेका छौं । बैंकको रकम हिनामिना प्रकरणमा अनुसन्धान भइरहेको छ’ प्रवक्ता खड्काले भने । केही दिनअघि मात्रै उनलाई नेपालगञ्जबाट पक्राउ गरिएको हो । अहिले बाँके नै राखेर उनीमाथि अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
यसअघि यो बैंक घोटाला प्रकरणमा संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका थिए । भारतको लखनउमा अपार्टमेन्ट भाडा लिएर बसेका उनलाई सीआईबीकै टोलीले पक्राउ गरेर नेपाल ल्याएको थियो । अहिलेसम्म यो बैंक घोटाला प्रकरणमा मुछिएका दुई जना पक्राउ परेका छन् । अन्यको संलग्नता देखिएकाले खोजी भइरहेको प्रहरीले बताएको छ ।
पक्राउ परेकाहरुलाई बाँके नै राखेर सीआईबीको टोलीले अनुसन्धान गरिरहेको छ । सीआईबीबाट डीएसपी दान थापाको कमाण्डको एउटा टोली नेपालगञ्ज गएर अनुन्सन्धान गरिरहेको सीआईबीले बताएको छ ।
पक्राउ परेकाहरुविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।