
काठमाण्डू, ३ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले अहिले प्रतिपक्षमा भएर पनि सत्ता पक्षको जस्तो भूमिका खेल्नु परेको बताएका छन ।
आज मंगलबार चितवन स्थित आफ्नै निवासमा सञ्चारकर्मीलाई सक्षिंप्त प्रतिक्रिया दिँदा माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले यस्तो बाध्यता संविधान र ऐन कानुनका कारण आइपरेको बताए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै १७ दिनसम्म संसद अवरोध गरेको माओवादी केन्द्रले सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेसँग दुई बुँदे सहमति गर्दै अवरोध खुलाउन राजी भएपछि पार्टीभित्रैबाट आलोचना खेपिरहेको छ ।
प्रचण्डले भने, ‘प्रतिपक्षको हिसाबले हामी कमजोर छौं । तर पनि हामीले संविधानको निम्ति, ऐन कानुनको निम्ति, सिस्टमको निम्ति सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता छ ।’ बजेट माथिको छलफलका लागि संसदको अवरोध हटाउनु परेको उनको भनाइ थियो । संसद अवरोध खुलाउन गरेको दुई बुँदे सहमतिलाई प्रचण्डले माओवादी जिम्मेवार ढंगले प्रस्तुत भएको भनेर व्याख्या गरे ।
‘यदि तपाईंहरुले यो कुरालाई गहिरो गरी विचार गर्नुभयो भने माओवादी कति गम्भिर र जिम्मेवार ढंगले चलेको रहेछ भनेर बुझ्न सजिलो हुन्छ,’ प्रचण्डले भने, ‘तपाईंहरुले परम्परागत आँखाले, चलनचल्तीको हिसाबले मात्रै हेर्नुभयो भने के गर्या होला ? भन्न पनि सकिन्छ ।’ बजेट पास गर्नुपर्ने, संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने लगायतका जिम्मेवारीवोधका साथ ३० दिनभित्र छानबिन समिति बनाउने सर्तमा संसदको अवरोध खुलाउन तयार भएको प्रचण्डले बताए ।
दुई बुँदे सहमति नगरेको भए हुन्थ्यो भन्नेहरुलाई उनले ‘बचकना’ भनेर टिप्पणी समेत गरे । ‘दुई बुँदे नगर्या भए नि हुन्थ्यो भन्छन् कसैले । यो चाहिँ बडो बचकना कुरा हो भन्ने लाग्छ मलाई,’ प्रचण्डले भने, ‘उनीहरुले नेपाली राजनीतिलाई नबुझ्नुको परिणाम पनि हो । यो अन्तरविरोधको परिस्थिति थाहा नपाउनुको परिणाम पनि हो ।’