
काठमाण्डू, २ असार– सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतबहादुर थापा धरौटीमा रिहा भएका छन । अवैध रूपमा ढुंगा, गिटी र बालुवा उत्खनन गरी वन पैदावारमा क्षति पुर्याएको तथा वन ऐनको उल्लंघन गरेको अभियोगमा सर्लाही जिल्ला अदालतमा मुद्दा समेत दायर छ ।
न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले आइतबार भएको थुनछेक बहसपछि थापालाई ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको हो । थापा आइतबार नै अदालतमा हाजिर भएका थिए ।
उनीमाथि ४७ लाख घनमिटरभन्दा बढी वन पैदावारमा क्षति पुर्याएको भन्दै एक अर्ब ४७ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयाँ ४५ पैसाको बिगो दाबी गरिएको छ ।
थापासँगै बागमती नगरपालिकाकी उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
भरत ताल निर्माणमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकाले हाल उनी निलम्बित छन् ।