
काठमाण्डू, २ असार– पछिल्लो केहि समय यता भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसदमा नाराबाजी गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा भने रोष्ट्रम अगाडि पलेंटी कसेर बसेका छन् ।
एमाले सांसद पदम गिरी बोल्दासम्म नारा लगाइरहेका उनीहरु माओवादी केन्द्रका सांसद शक्ति बस्नेत बोल्न सुरु गरेपछि भने शान्तपूर्वक बसिरहेका छन् । उनीहरुलाई मर्यादापालकले घेरेर राखेका छन् ।
कुनै पनि एक जना सांसद उभिए पनि संसद बैठक नचल्ने प्रचलन भए पनि सभामुख देवराज घिमिरेले बैठक नियमित कार्यसूचीमा सन्चालन गरिरहेका छन् । बजेटमाथिको छलफल गर्ने र पारित गर्ने समयको चापका कारण बैठक चलाउनु परेको सभामुख घिमिरेको तर्क छ । सभामुख घिमिरेले आइबार पनि विरोधका बीच बैठक सन्चालन गरेका थिए ।
आइतबार जस्तै सोमबार पनि सभामुख घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु आआफ्नो ठाउँबाट उठेका थिए ।
तर बैठक नरोकिएपछि रास्वपा सांसदहरु नाराबाजी गर्दै वेल अगाडि गए भने राप्रपा सांसदहरु बैठक कक्षबाट बाहिरिए । रास्वपा सांसदहरु वेल अगाडि बसिरहेका बेला संसद बैठकमा बजेटमाथिको छलफल जारी छ ।