भन्सार विधेयक पारित भएसँगै राजस्व चुहावट नियन्त्रण हुन्छः अर्थमन्त्री पौडेल

काठमाण्डु टुडे २०८२ जेठ २६ गते १७:२१ मा प्रकाशित

काठमाण्डू, २६ जेठ– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक, २०८० पारित भएसँगै राजस्वको चुहावट नियन्त्रण गर्न सहज हुने दाबी गरेका छन ।

आज (सोमबार) बसेको राष्ट्रिय सभा बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावउपर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन ।

विधेयक पारित भएर कार्यान्वयनमा आएसँगै भन्सार प्रणालीलाई पारदर्शी र विश्वसनीय बनाउन एवं अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न ठूलो योगदान दिनेसमेत उनले बताएका छन ।

उनले भने, ‘यो विधेयकको आवश्यकता र अपरिहार्यताका सम्बन्धमा जोड दिनुभएको छ । त्यसै भएर नै यो भन्सार सम्बन्धी विद्यमान कानूनलाई संशोधन र एकीकरण गर्ने उद्देश्यका साथमा भन्सार विधेयक, २०८० को प्रक्रिया अघि बढेको छ, यस विधेयकका उपर विज्ञ, विशेषज्ञहरुलाई राखेर पनि छलफल गरिएको छ । अन्तर्राष्ट्रिय असल अभ्यासलाई समेट्ने कोशिस गरिएको छ ।’

सांसदहरूले विधेयकको आवश्यकता र अपरिहार्यताका सम्बन्धमा जोड दिएकोमा अर्थमन्त्री पौडेलले धन्यवाद व्यक्त गरे । अर्थमन्त्री पौडेलले विधेयक पारित भएर कार्यान्वयनमा जाँदा भन्सार प्रशासनमा रहेका र राजश्व परिचालनमा धेरै समस्या समाधान हुने दाबी समेत गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us