काठमाण्डू, २६ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक समृद्धिका लागि अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकार हटाएको बताएका छन ।
आज (सोमबार) काठमाण्डूमा आयोजित रिटर्नी सेन्टर नेपालको दोस्रो स्थापना दिवसको कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले अघिल्लो सरकारले सुरु गरेको रणनीतिक महत्वका कार्यक्रमलाई वर्तमान सरकारले हटाएको बताएका हुन् ।
समग्र आर्थिक विकास र समृद्धिका साथै पिछडिएका वर्ग लक्षित कार्यक्रम अहिलेको बजेटमा हटाइएको पनि उनले बताएका छन । अध्यक्ष प्रचण्डले अहिले देशको राजनीतिमा उतार चढाव देखिएको पनि बताएका छन ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान, समानुपातिकता र समावेशिताको संविधानमार्फत समाजवादउन्मुख हुने परिकल्पना गरिएकाले समाजवादको आधार निर्माण गर्ने कुरामा लागिरहेको पनि बताएका छन ।
अध्यक्ष प्रचण्डले रिटर्नीहरुको तर्फबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय समितिमा समावेश गरिने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।