वाईसीएललाई प्रचण्डको निर्देशनः सबैखाले प्रतिगमनका विरुद्ध खरो र दरो साबित गर्नुस्

काठमाण्डु टुडे २०८२ जेठ २६ गते १४:१६ मा प्रकाशित

काठमाण्डू, २६ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने षड्यन्त्र भइरहेको दाबी गरेका छन ।

आज (सोमबार) नवनिर्वाचित योङ कम्युनिष्ट लिग (वाईसीएल नेपाल) का पदाधिकारीलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी र प्रतिगमनकारीहरूले यस्तो प्रयास गरिरहेको बताए पनि ती शक्ति को हुन् भनेर खुलाएनन् ।

प्रचण्डले भने, ‘अब कहीँ न कहीँ प्रतिक्रियावादी, प्रतिगमनकारीहरूले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त भएका उपलब्धिलाई उल्ट्याउन सकिन्छ कि भन्ने षड्यन्त्र पनि छन्, कहीँ न कहीँ फेरि जनयुद्धको, माओवादी आन्दोलनको, वाईसीएलको, युवाहरूको, जनमुक्ति सेनाको भूमिकालाई अपमानित गर्ने कोसिसहरू पनि भइराखेकै छन् ।’

उनले नवनिर्वाचित कार्यसमितिलाई पार्टीको आदेशमा सबैखाले प्रतिगमनका विरुद्ध खरो र दरो उभिन आग्रह समेत गरेका छन । ‘नवनिर्वाचित तपाईँहरूको पदाधिकारीको टिम पक्कै पनि यो जनरल स्टाफ जस्तै हो ।

वाईसीएल नेपालको जनरल स्टाफ नै हो यो, ‘तपाईँहरूले पार्टीको नेतृत्व आदेशमा सबै खाले प्रतिक्रियावाद र प्रतिगमनका विरुद्ध आफूलाई खरो र दरो साबित गर्नुहुनेछ ।’ प्रचण्डले वाईसीएलको पदाधिकारी ठूलो बने पनि नेतृत्वको केन्द्रीकरण भएको समेत बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us